काठमाण्डु – नागरिक उन्मुक्ति पार्टी (नाउपा) संरक्षक रेशम चौधरीले पत्नी रञ्जिता श्रेष्ठ चौधरीलाई हटाएर बुवा लालवीरलाई अध्यक्ष बनाउने तयारी गरेका छन् ।
आफूपक्षीय बहुमत केन्द्रीय सदस्यको बैठक राखेर रेशमले बुधबार अध्यक्ष रञ्जितालाई पदमुक्त गर्ने निर्णय गरिसकेका छन् भने अब पार्टी अध्यक्ष बुवा लालवीरलाई बनाएको निर्णय गर्ने तयारी छ ।
नाउपा स्रोतका अनुसार पछिल्ला केही महिनायता पत्नी रञ्जितासँगको उतारचढावपूर्ण सम्बन्धबीच रेशमले उनलाई पदमुक्त गर्ने निर्णय लिएका हुन् । अब रेशमले बुवाको आधिकारिकताबाट पार्टी सञ्चालन गर्ने स्रोतले जनाएको छ ।
कैलालीको टीकापुर घटनामा फौजदारी अभियोगमा दोषी ठहर भएका रेशम आफू प्रत्यक्ष राजनीतिमा संलग्न हुन नपाउने अवस्थामा छन् । तसर्थ पत्नीले आफू अनुकुल पार्टी सञ्चालन नगरेपछि उनले अब बुवालाई अगाडि बढाउन थालेका छन् । नाउपा बैठकमा सदस्यहरूले बोल्ने क्रम नसकिएकाले अध्यक्षको औपचारिक घोषणा भोलि बिहीबारको बैठकमा हुनेछ ।
बर्दियाबाट स्वतन्त्र उम्मेदवार भई प्रतिनिधिसभा सदस्य चुनाव जितेका लालवीर पछि नाउपामा समाहित भएका थिए ।




प्रतिक्रिया