काठमाण्डु – लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाब उच्च विन्दुमा पुगेको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो ।
आइतबार बिहान यस वर्षयताकै उच्च विन्दुमा नदीको सतह पुगेको छ । गेजरिडर कृष्णप्रसाद सुवेदीका अनुसार नदीको सतह ६ मिटर ४० सेन्टिमिटरको उचाइमा पानीको बहाब भइरहेको छ । यो यस वर्षकै सबैभन्दा बढी मापन हो ।
वर्षा रोकिएकाले बहाब घट्दै जाने सम्भावना पनि देखिएको छ । कालीगण्डकी नदीको बहाब बढेपछि तटीय क्षेत्रका बासिन्दा जोखिममा परेका छन् ।
पर्वतको जलजला गाउँपालिकाको बगरफाँट, वारीबेनी, मिलनचोक, लस्ती, खनियाँघाट, कुश्मा नगरपालिकाको मालढुङ्गा, नयाँपुल, मोदीवेणी, फलेवास नगरपालिकाको जैमिनीघाट र विहादी गाउँपालिकाको सेतीवेणीबजार उच्च जोखिममा परेका हुन् ।
बहाबले पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित विश्वकै ठूलो शालिग्राम शिलासमेत डुबानमा परेको छ । शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डितसमेत चिन्तित बनेका छन् ।
शिला संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबियन समेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधार पनि पूर्ण रूपमा क्षति पुगेको छ ।
कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने सेतीवेणीबजार डुबानको खतरामा पर्ने गरेको हो । बाँधका सबै ढोका भने खोलिएका छन् ।
कालीगण्डकी र सेतीखोलाको बहाब बढेसँगै सेतीवेणीबजार डुबानमा पर्ने चिन्ताले पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्जातर्फको बजार क्षेत्रका झण्डै दुई सय व्यापारी तथा सर्वसाधरण जोखिममा परेका छन् ।
२०६६ असोज २१ गते कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जन घरपरिवार विस्थापित बनेका थिए ।




प्रतिक्रिया