एमाले विधान महाधिवेशनका सम्भावित ४ कार्यसूचीमा के–के छन् ?

एमाले विधान महाधिवेशनका सम्भावित ४ कार्यसूचीमा के–के छन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एमालेले यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सन्राइज अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुने दोस्रो विधान महाधिवेशनमा चारवटा प्रमुख कार्यसूचीमा केन्द्रित छलफल हुने भएको छ।

एमाले प्रचार विभाग प्रमुख एवं स्थायी कमिटी सदस्य राजेन्द्र गौतमका अनुसार महाधिवेशनमा राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव तथा केन्द्रीय निकायहरू — चार सल्लाहकार परिषद् र तीन आयोगका प्रतिवेदन प्रस्तुत गरिनेछ।

महाधिवेशनमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने उपाध्यक्ष तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन्। महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ।

त्यस्तै, अनुशासन आयोग अध्यक्ष केशव बडाल, लेखा आयोग अध्यक्ष डा। पुष्प कँडेल, निर्वाचन आयोग अध्यक्ष डा। विजय सुब्बा, तथा सल्लाहकार परिषद् तर्फबाट अमृतकुमार बोहराले आ–आफ्ना प्रतिवेदनहरू प्रस्तुत गर्ने छन्।

विधान संशोधन प्रस्तावलाई एमालेले सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीमा छलफल गरी प्रारम्भिक मस्यौदा तयार पारी देशभरका मातहत कमिटीहरूमा सुझावका लागि पठाएको छ। प्राप्त सुझावको आधारमा उपाध्यक्ष पौडेलको संयोजकत्वमा रहेको समितिले मस्यौदालाई अन्तिम रुप दिनेछ।

महाधिवेशनको प्रचार व्यवस्थापनका लागि स्थायी कमिटी सदस्य राजेन्द्र गौतमको संयोजकत्वमा प्रचार उपसमिति गठन गरिएको छ। उपसमितिमा प्रचार विभाग सदस्यहरू गणेश बस्नेत, गणेश पाण्डे, श्रीधर आचार्य, चेतन अधिकारी, दीपक ज्ञवाली, र विश्वमणि सुवेदी सम्मिलित छन्।