काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बुधबार प्रमुख साना तथा मध्यम राजनीतिक दलहरूको संयुक्त बैठक बसेको छ ।
निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन आह्वान गर्दै पठाएको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’का विषयमा गम्भीर आपत्ति जनाउँदै बैठक बसेको हो ।
बैठकको सञ्चालन गर्दै अध्यक्ष प्रचण्डले कार्यविधि हालको संविधान, ऐन तथा कानून विपरीत रहेकाले सर्म्पूण दलहरूको साझा धारणा बनाउन बैठक आयोजना गरिएको जानकारी गराए ।
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सत्ता गठबन्धनमा रहेका कांग्रेस र एमालेले निर्वाचन आयोगलाई कार्यविधिमा ‘गो अहेड’ दिएको सूचना पाएको बताउँदै त्यसका आधारमा निर्वाचन आयोगले कार्यविधिमा राखेको प्रावधान साना दलहरूलाई नियन्त्रण गर्ने प्रयास भएको बताए ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रस्तावित कार्यविधि राजनीतिक दल सम्बन्धी ऐन २०७३ सँग मेल नखाने बताए । उनले कार्यविधिबाट प्रस्तावित समिति, त्यसका संयोजक तथा अधिकारहरू संविधान र कानूनको मर्मविपरीत रहेको उल्लेख गरे । दलका सफ्टवेयर तथा प्रयोगकर्ता विवरणमा आयोगको पहुँच दिनु पार्टीहरूको स्वतन्त्रतामा हस्तक्षेप हुने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता गणेश पराजुलीले कार्यविधिको मनसाय नै गल्तीपूर्ण भएको दाबी गर्दै आफूहरू यसको विरोधमा रहेको प्रष्ट पारे ।
राप्रपा नेपालका नेता बुद्धिमान तामाङ, लोसपाकी नेत्री रेखा यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, नागरिक उन्मुक्तिका नेताहरू र अन्य दलका प्रतिनिधिहरूले कार्यविधि संविधान, लोकतन्त्र र दलको स्वायत्तताविरुद्ध रहेको टिप्पणी गरेका छन् ।
जनमत अध्यक्ष सीके राउतले निर्वाचन आयोगले साना दलहरूको अभिलेख अपडेट नगरेको गुनासो गर्दै आयोग साना पार्टीलाई हटाउने रणनीतिमा लागेको समेत बताए । उनले आयोगको पक्षपाती व्यवहारविरुद्ध एकीकृत प्रतिवाद आवश्यक रहेको बताए । आजपाका अध्यक्ष प्रभु साहले संविधान र ऐन विपरीत भएको स्पष्ट रहेको भन्दै यसविरुद्ध संघर्ष आवश्यक भएको बताए ।
बैठकमा नाम स्वमूल्यांकन भए पनि नियन्त्रणको उद्देश्य रहेकाले यसमा सबै दलले साझा धारणा बनाएर निर्वाचन आयोगसँग छलफल, प्रतिवाद गर्ने र आवश्यक परे आन्दोलन समेत गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।
बैठकमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टी, लोसपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका दलहरूको सहभागिता छ ।
नागरिक उन्मुक्ति पार्टीले मंगलबारको बैठकमा सहभागी भई कार्यविधिविरुद्ध आफ्नो दल रहेको बताएको थियो । बुधबारको बैठकमा भने बाहिर रहेका कारण आउन नसकेको जनाएको छ ।




प्रतिक्रिया