भारतीय प्रधानमन्त्री मोदी चीन भ्रमणमा जाँदै, सम्बन्ध सुधार हुने विश्वास

भारतीय प्रधानमन्त्री मोदी चीन भ्रमणमा जाँदै, सम्बन्ध सुधार हुने विश्वास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौ १५–१६ गते (अगस्ट ३१–सेप्टेम्बर १) चीन भ्रमणमा जाने भएका छन् ।

प्रधानमन्त्री मोदी तियान्जिन शहरमा आयोजना हुने शांघाई सहयोग संगठन (एससीओ) को क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन चीन जाने कार्यक्रम छ ।

भ्रमणलाई सन् २०२० मा लद्दाखको गलवान उपत्यकामा भएको भारत–चीन सीमाविवादपछिको पहिलो उच्चस्तरीय भ्रमणका रूपमा लिइएको छ । गलवान झडपपछि द्विपक्षीय सम्बन्धमा आएको चिसोपनलाई सहज बनाउने प्रयासस्वरूप प्रधानमन्त्री मोदीको चीन यात्रा महत्वपूर्ण मानिएको छ ।

शिखर सम्मेलनमा एससीओ सदस्य राष्ट्रबीच क्षेत्रीय सुरक्षा सम्बन्धी सहकार्य, आर्थिक साझेदारी र आतंकवाद विरुद्धको साझा रणनीतिबारे छलफल हुनेछ । भारत र चीन दुवै एससीओका स्थायी सदस्य राष्ट्र हुन् र पछिल्लो समय दुवै देशले सम्बन्ध सुधारका लागि कूटनीतिक पहललाई प्राथमिकता दिइरहेका छन् ।

भारतको प्रधानमन्त्रीस्तरबाट हुन लागेको भ्रमणले २ छिमेकी राष्ट्रबीचको विश्वास, सीमाविवाद समाधानका प्रयास र बहुपक्षीय मञ्चमार्फत क्षेत्रीय स्थायित्वका सवालमा सहकार्य विस्तार गर्ने सम्भावना बलियो बनाउने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भ्रमणलाई भारतीय विदेश मन्त्रालयले सद्भाव, संवाद र सहकार्यका लागि अवसरको रूपमा व्याख्या गरेको छ भने चिनियाँ पक्षले पनि सकारात्मक संकेतका रूपमा स्वागत गरेको छ ।