काठमाण्डु – ‘मलाई नेपालकी एउटी युवतीले निकै भावपूर्ण पत्र पठाउँथिन्, मैले उनलाई १०–१२ पटक जबाफ पनि दिएँ । एक दिन मैले जबाफ पठाउन छोडेँ । उनले बिदाइ सन्देशसहित मलाई ती सबै पत्र फिर्ता पठाइन् । उनको मन दुखेको थियो’
यो कुनै काल्पनिक कथा होइन, देव आनन्दले आफ्नो आत्मकथा ‘रोमान्सिङ विथ लाइफ’मा उल्लेख गरेको प्रसंग हो यो । यो प्रसंगले नेपालका युवायुवतीहरू उनको कति प्रशंसक थिए भन्ने दर्शाउँछ ।
उनी यस्ता नायक थिए जसको लोकप्रियता भारत, पाकिस्तान र नेपालसहित कैयौँ देशमा थियो । त्यसबेलाका चर्चित हलीवुडका दिग्गजहरू डेभिड लीन, ग्रेगरी पेक, फ्रान्क काप्रा उनका प्रशंसक मात्र थिएनन, असल मित्र पनि थिए । देव आनन्द अन्तर्राष्ट्रिय ख्याति भएका भारतका पहिलो ‘सहरिया नायक’को रूपमा चिनिन्थे ।
नेपाल सम्बन्ध
नेपालमा देव आनन्दका धेरै प्रशंसकहरू थिए । नेपालको राजपरिवारसँग उनको निकट सम्बन्ध थियो । स्वर्गीय राजा महेन्द्र तथा नेपालको दरबारसँग उनको निकट सम्बन्ध थियो । दरबार हत्याकाण्डको केही समयपछि उनले यो विषयमा फिल्म बनाउने घोषणा गरेका थिए । तर पछि यो गम्भीर विषय भएकाले नबनाउने बताएका थिए ।
उनको निकै सफल चलचित्र ‘हरेराम हरेकृष्ण’ को छायांकन नेपालमै भएको थियो । यसका साथै ‘जोनी मेरा नाम’ र ‘इश्क इश्क इश्क’को छायांकन पनि नेपालमा भएको थियो ।
देव आनन्दको क्रेज नेपालमा यति थियो कि उनकै जस्तो कपाल बनाउन युवाहरू बाँसको ढुङ्ग्रोमा तताएको विशेष किसिमको तेल लगाउँथे ।
देव आनन्दका दाँतका बीचमा छिद्र थियो । उनका नेपाली ‘फ्यान’हरू आफ्ना दाँत बिगारेर उनको जस्तै बनाउँथे ।
‘हरेराम हरेकृष्ण’को छायांकन हुँदा मानिसहरूको ठूलो घुइँचो लाग्थ्यो । ‘हरेराम हरेकृष्ण’को गीत ‘दम मारो दम’ को छायांकन रातको समयमा काठमाण्डुमा भइरहँदा पनि देव आनन्द र अभिनेत्री जीनत अमानलाई हेर्न मानिसहरूको भिड थामिनसक्नु थियो । भिड यति थियो कि प्रहरीले लाठीचार्ज पनि गर्नुपरेको थियो । मानिसहरूले प्रहरीमाथि पनि ढुङ्गा पनि हाने ।
सन् १९७१ मा बनेको ‘हरे राम हरे कृष्णा’मा पाइलटको भूमिकामा रहेका देव आनन्द नेपालको आफ्नो पहिलो उडान भरिरहेका हुन्छन् । माथिबाट काठमाण्डुको सौन्दर्य देखेर उनी मन्त्रमुग्ध भएको थिए । यसको चर्चा उनले आत्मकथामा गरेका छन् ।
देव आनन्दको जन्म सेप्टेम्बर २२, १९२३ मा अविभाजित पन्जाबमा भएको थियो । उनको जन्मस्थान अहिले पाकिस्तानमा छ । लाहोरबाट स्नातक गरेपछि जुलाई १९४३ मा देव आनन्द खल्तीमा ३० रुपैयाँ लिएर बम्बई जाने रेल चढे । त्यसको केही वर्षभित्रै उनी हिन्दी चलचित्रका ठूला नायक बने ।
लाहोर छोडेर सन् १९४३ मा बम्बई गएका देव आनन्दले सुरुमा कहिले क्लर्कको रूपमा र कहिले ब्रिटिश सेनाको सेन्सर कार्यालयमा पनि काम गरे । तर उनी अभिनेता बन्न चाहन्थे । उनले सन् १९४६ मा चलचित्र ‘हम एक हैं’मा खेल्ने अवसर पाए ।
भर्खरै स्वतन्त्र भएको भारतमा देव आनन्द चर्चामा आइसकेका थिए । चम्बलका डाँकादेखि विभिन्न देशका शासकसम्म देव आनन्दका प्रशंसक थिए । चलचित्र ‘कालापानी’को छायांकन हेर्न इन्डोनेशियाका तत्कालीन राष्ट्रपति सुकार्नो भारत आएका थिए ।
बाजी, ट्याक्सी ड्राइभर, ग्याम्बलर र गाइडजस्ता चलचित्रका लागि मात्र होइन, देव आनन्दलाई उनको शैलीका लागि पनि याद गरिन्छ । नुहेको घाँटी, उनको टोपी, गलामा रङ्गीन स्कार्फ र नरोकिईकन बोल्ने शैलीको धेरै मानिस उनीप्रति मन्त्रमुग्ध हुन्थे ।
आफ्ना समयका एभरग्रीन सुपरस्टार देव आनन्दको १८ मंसिर २०६८मा ८८ वर्षको उमेरमा हृदयघातका कारण लण्डनमा निधन भयो ।




प्रतिक्रिया