काठमाण्डु – नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री शक्ति बस्नेतले आतंकवादको अवस्थालाई सुधार गर्न नागरिकको जीवन सहज बनाउनुपर्ने बताएका छन् ।
आईतबार काठमाण्डुमा आयोजित ‘दक्षिण एसियामा आतंकवादको अवस्था र दीर्घकालीन समाधान’ विषयक विचार गोष्ठीमा उनले नागरिकको जीवन सहज भयो भने नराम्रो बाटो सकेसम्म मानिसले नरोज्ने भन्दै आतंकवादको अवस्था आउन नदिन नागरिकको जीवन सहज बनाउनेतर्फ लाग्नुपर्ने बताए ।
उनले भने, ‘सुरक्षाको साधन मात्रै पनि दक्षिण एसियामा देखिएको आतंकवादको अवस्थाको समग्र समाधान होइन । राज्यले विश्वास जित्ने वातावरण निर्माण गर्नुपर्छ । त्यसको लागि राज्य सबैको हो भन्ने अनुभूति गराउनुपर्छ । एउटा नागरिकको जीवन सहज भयो भने नराम्रो बाटो सकेसम्म मानिसले रोज्दैन होला । त्यसकारण पनि नागरिकको जीवन सहज बनाउनेतर्फ लाग्नुपर्छ ।’
राज्यले जनतालाई आश्वस्त बनाउनका लागि जनतालाई विश्वासमा लानका लागि पूरा गर्नुपर्ने केही जिम्मेवारीका विषयहरूमा कमी अथवा समस्या आए पनि त्यसले उल्लेखित विषयलाई मलजल गर्ने उनले बताए ।
उनले भने, ‘देशमा जुन विविधता छ त्यो राम्रो कुरा हो । यो त पुँजी हो तर यसको व्यवस्थापन सही तरिकाले नहुँदा बिखण्डनको समस्या पनि आउँछ । दक्षिण एसियामा जुन परिवेश छ, त्यो सकारात्मक भए पनि केही चुनौतीहरू पनि छ । यहाँ भएको विविधतालाई सही तरिकाले व्यवस्थापन गर्न नसक्दा पनि चुनौतीहरू देखापरेका छन् । यस कुरालाई सैद्धान्तिक तहबाट समाधान गर्नुपर्छ ।’




प्रतिक्रिया