ललितपुर – ललितपुर महानगरले डेंगीको प्रकोप नियन्त्रणका लागि घर वरपर पानी जम्न नदिन र सफा राख्न नगरवासीलाई आह्वान गरेको छ ।
सामाजिक समितिका संयोजक एवं प्रवक्ता राजु महर्जनको अध्यक्षतामा सोमबार बसेको डेंगी नियन्त्रण सम्बन्धी बैठकमा घर कम्पाउण्डभित्र पानी जम्न नदिन विज्ञहरूले अनुरोध गरेका हुन् ।
टायर, ट्यूब र प्लाष्टिकका भाडाहरू जथाभावी फ्याँँँक्दा त्यसमा पानी जम्ने र त्यो पानीमा डेंगी फैलाउने लामखुट्टेको विकास हुने भएकाले टायर र ट्युब घर वरपर नराख्न महानगरले अनुरोध गरेको छ ।
महानगरका प्रवक्ता राजु महर्जन सामान्य जस्तो लाग्ने सजगताले डेंगी नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले भने, ‘हाम्रो सजगताले डेंगी फैलाउने लामखुट्टेको वृद्धि र विकास हुन दिँदैन, त्यसैले सावधानी अपनाऔं ।’
हप्ताको एकपटक घर र कम्पाउण्डमा ‘खोज र नष्ट गर’ कार्यक्रम सञ्चालन गर्न पनि महानगरले नगरवासीलाई आग्रह गरेको छ ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भवन पौडेलले सामान्य सतर्कताले डेंगी रोगबाट जोगिन सकिने जानकारी दिए ।
कार्यक्रममा विषयगत समितिका संयोजकहरू, सरोकारवाला संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।
घरमा बस्दा वा कार्यालय र विद्यालय जाँदा, हिडडुल गर्दा पूरा बाउला भएको कपडा लगाउन महानगरले भनेको छ । अनुगमनको क्रममा सार्वजनिक कार्यक्रममा प्रयोग गरिएका कपहरुको उचित व्यवस्थापन नभएको उल्लेख गर्दै डेंगीको प्रकोप मत्थर नभएसम्म प्लाष्टिकका कप प्रयोगमा महानगरले प्रतिबन्ध लगाएको छ ।




प्रतिक्रिया