रोशन खड्का,
काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली भदौ दोस्रो साता चीन भ्रमणमा जाने भएका छन् ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री ओली भदौ १४ गते (अगस्त ३०) तारिखमा बेइजिङ भ्रमणमा जाने भएका हुन् ।
यसअघि चीन भ्रमणको निम्तो आएपनि प्रधानमन्त्री ओली चीन जाने या नजाने अनिश्चित थियो । तर, प्रधानमन्त्री ओलीले भ्रमणको तयारी गर्न निर्देशन दिएपछि परराष्ट्र मन्त्रालय र बेइजिङस्थित नेपाली दूतावासले तयारी तीव्र पारेको छ ।
प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईले भने भ्रमणको विषयमा आफूलाई जानकारी नरहेको बताए ।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिंगसँग भेटवार्ता गर्दै द्विपक्षीय सम्बन्ध, पूर्वाधार विकास र क्षेत्रीय सहकार्यका विषयमा उच्चस्तरीय वार्ता गर्ने सम्भावना छ।
यसअघि प्रधानमन्त्री ओलीले मंसिर १७ गते चीनको चारदिने औपचारिक भ्रमण गरेका थिए । भ्रमणका क्रममा दुई देशबीच महत्वपूर्ण सम्झौता पनि भएको थियो ।
चीनमा हुन लागेको संघाइ अर्गनाइजेशन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओलीको भ्रमण हुन लागेको हो । शिखर सम्मेलन अगस्ट ३१ र सेप्टेम्बर १ मा तियानजिन शहरमा आयोजना हुँदैछ ।
नेपाल सन् २०२० देखि एससीओको संवाद साझेदारको रूपमा रहँदै आएको छ । एससीओको शिखर सम्मेलनमा नेपालबाट पहिलो पटक उच्चस्तरको सहभागिता हुन लागेको हो ।
एससीओको स्थापना २००१ मा क्षेत्रीय स्थिरता प्रवर्द्धन गर्ने उद्देश्यले भएको हो । यसमा हाल बेलारुस, चीन, भारत, इरान, काजाकिस्तान, किर्गिस्तान, पाकिस्तान, रूस, ताजिकिस्तान र उज्बेकिस्तान गरी १० देशहरू छन् ।
यसका साथै एसओसीमा नेपालसहित टर्की, श्रीलंका, अजरबैजान, अर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेयिबा र युएईसहित १४ देशहरू संवाद साझेदार हुन् ।
सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुँदैछन् । सम्मेलनमा चीनले मोदीको सहभागितालाई उच्च प्राथमिकता दिएको छ । यसका साथै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित सदस्य राष्ट्रका शीर्ष नेताहरू सहभागी हुनेछन् ।
भारत र अमेरिकाबीच जारी व्यापार युद्धले चीन र भारत नजिकिँदैछन् । यसै परिपेक्ष्यमा प्रधानमन्त्री ओलीको चीन भ्रमण हुन लागेको हो ।
शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री ओलीको भारतीय प्रधानमन्त्री मोदीसँग पनि भेटवार्ता हुने जनाइएको छ । यो भेटवार्ता प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा हुन लागेको हो । प्रधानमन्त्री ओली भदौ ३१ गते भारतको औपचारिक भ्रमण गर्दैछन् ।
प्रधामनन्त्रीको भारत भ्रमण अघि भदौ १ गते भारतका परराष्ट्रसचिव विक्रम मिश्री काठमाण्डु आउँदैछन् । प्रधानमन्त्रीको भारत भ्रमणको तयारीका सन्दर्भमा मिस्री दुई दिने नेपाल भ्रमणका लागि काठमाण्डु आउन लागेका हुन् । ओलीको चीन भ्रमणअघि नै मिश्रीसँग भेटवार्ता हुनेछ ।
यसका साथै चीनले यस वर्ष जापानी आक्रामकता विरुद्धको चिनियाँ जनताको प्रतिरोध युद्ध र विश्व फासिस्ट विरोधी युद्धमा विजयको ८० औं वार्षिकोत्सव पनि मनाउँदै छ ।
सेप्टेम्बर ३ मा हुने उक्त वार्षिकोत्सवमा पनि विश्व नेताहरूको उपस्थिति रहने छ । प्रधानमन्त्री ओलीलाई दुवै कार्यक्रममा निम्तो आएको हो ।
सेप्टेम्बर २, १९४५ मा जापानले गरेको आत्मसमर्पणको औपचारिक हस्ताक्षरको सम्झनामा चीनले हरेक वर्ष वार्षिकोस्तव मनाउँदै आएको छ ।




प्रतिक्रिया