झापा- भारतबाट भन्सार छली नेपाल भित्र्याइएका २७ लाख रुपैयाँभन्दा बढी मूल्यका सयपत्री र कमलका फूल सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ।
सशस्त्र प्रहरीले आइतबार झापा र धनुषाका सीमा क्षेत्रमा गरी २७ लाख ३ हजार ४०० रुपैयाँ बराबरका फूल बरामद गरेको हो।
झापाको भद्रपुर नगरपालिका–८, देवीबस्ती क्षेत्रमा विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले २५ लाख ६३ हजार ४०० रुपैयाँ बराबरका फूल बरामद गरेको थियो।
सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाबाट खटिएको नौ जनाको मोबाइल गस्ती टोलीले ११ हजार ३४२ थान भारतीय सयपत्री फूलका माला र १२ झोला कमलका फूल बरामद गरेको हो।
बरामद फूल स्थानीय प्रतिनिधिहरूको उपस्थितिमा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाको कार्यालय परिसरभित्र खाल्डो खनेर पुरिएको थियो।
त्यस्तै, धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–३, तुल्सियाहीस्थित सीमा क्षेत्रमा भारतबाट भन्सार छली ल्याउँदै गरिएको १ लाख ४० हजार रुपैयाँ बराबरको २०० किलो सयपत्री फूल बरामद गरिएको थियो।
सशस्त्र प्रहरी बलको बीओपी फुलगामाबाट सशस्त्र प्रहरी नायब निरीक्षक अञ्जल बिष्टको कमाण्डमा खटिएको चार जनाको मोटरसाइकल गस्ती टोलीलाई देखेपछि फूल बोकेर ल्याउने व्यक्ति फूल छाडेर फरार भएका थिए।
धनुषामा बरामद फूल स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, भन्सार कार्यालय जटहीका प्रतिनिधि तथा स्थानीयवासीको रोहवरमा सशस्त्र प्रहरीको बीओपी परिसरभित्र खाल्डो खनेर नष्ट गरिएको थियो।
दुवै जिल्लामा बरामद गरिएका फूलको कुल मूल्य २७ लाख ३ हजार ४०० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।


प्रतिक्रिया