अमेरिकाले भारतमाथि किन लगायो आर्थिक प्रतिबन्ध ?

अमेरिकाले भारतमाथि किन लगायो आर्थिक प्रतिबन्ध ?

अमेरिकी अर्थमन्त्री भन्छन्–भारतले रुसबाट सस्तोमा तेल किनेर उच्च मूल्यमा बेच्छ, जुन अस्वीकार्य छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रुसमाथि थप दबाब दिन भारतमाथि आर्थिक प्रतिबन्ध लगाएको अमेरिकाले जनाएको छ ।

अमेरिकी ह्वाइट हाउसकी प्रेस सचिव कैरोलीन लीविटले मंगलबार राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि दबाब दिन भारतमाथि आर्थिक प्रतिबन्ध लगाएको बताएकी छन्।

यसअघि ट्रम्प प्रशासनले रुसबाट तेल खरिद गरेकोमा भारतविरुद्ध गरिएको आर्थिक कारबाहीलाई जरिवाना वा ट्यारिफको रूपमा वर्णन गर्दै आएको थियो।

ट्रम्पले भारतमाथि ५० प्रतिशत कर लगाउने निर्णय गरेका छन्। यसमा २५ प्रतिशत पारस्परिक अर्थात् टिट फर ट्याट ट्यारिफ र रूसबाट तेल खरिद गर्दा थप २५ प्रतिशत जरिवाना समावेश छ। पारस्परिक कर ७ अगस्टदेखि लागू भएको छ भने जरिवाना २७ अगस्टदेखि लागू हुनेछ।

यता, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भारतले रूसबाट सस्तो तेल किनेर प्रशोधन गरेपछि उच्च मूल्यमा बेचेर नाफा कमाउने काम गरेको आरोप लगाएका छन्।

ट्रम्प प्रशासनले भारतमा कुल ५० प्रतिशत कर लगाएको बेला बेसेन्टको टिप्पणी आएको हो।

सीएनबीसी न्यूज च्यानलमा चीन र भारतसँग अमेरिकाको दोहोरो मापदण्डको बारेमा सोधिएको प्रश्नको जवाफमा बेसेन्टले भनेका छन्। ‘रूस–युक्रेन युद्धपछि रूसबाट चीनको तेल आयात केवल ३ प्रतिशतले बढेको छ, जबकि भारतको आयात ४० प्रतिशतभन्दा बढीले बढेको छ।’

उनले भने, ‘भारतले केवल नाफा कमाएको छ। यसले यसबाट १६ अर्ब डलरको अतिरिक्त नाफा कमाएको छ। भारतका केही धनी परिवारहरूले यसबाट नाफा कमाएका छन्।’

भारतको यो व्यापार युद्ध सुरु भएदेखि नै चलिरहेको र यो पूर्णतया अस्वीकार्य रहेको उनले बताएका छन् ।

ब्लूमबर्गलाई दिएको एक अन्तर्वार्तामा पनि अमेरिकी अर्थमन्त्रीले ट्रम्प र पुटिनबीचको वार्तामा सहमति नभएमा रुसी तेल खरिद गरेकोमा भारतमाथि थप प्रतिबन्ध लगाउन सकिने संकेत पनि गरे।

भारतले शुल्क लगाउने अमेरिकी कदमलाई अनुचित भन्दै आफ्नो राष्ट्रिय हित र आर्थिक सुरक्षाका लागि आवश्यक सबै कदम चाल्ने उनले बताएका छन् ।