काठमाण्डु – भारतले नेपालसँगको खुला सीमामा बढ्दो सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै ड्रोन र एन्टी-ड्रोन प्रविधि प्रयोग गर्ने तयारी गरेको छ ।
भारतको गृह मन्त्रालयले नेपालसँग सीमा जोडिएका उत्तर प्रदेशका सातवटा जिल्लाहरू पिलिभित, लखीमपुर खेरी, बहराइच, श्रावस्ती, बलरामपुर, सिद्धार्थनगर र महराजगञ्जमा उन्नत निगरानी प्रणाली लागू गर्न निर्देशन दिएको छ । निर्देशिका अनुसार यी जिल्लाहरूमा ड्रोन र एन्टी–ड्रोन प्रविधि प्रयोग गरिने छ ।
ड्रोनले सुरक्षा बलको परम्परागत गस्तीलाई साथ दिने र आकाशबाटै अवैध गतिविधि र घुसपैठ पत्ता लगाउने लक्ष्य राखिएको छ ।
प्रारम्भिक चरणमा वीरगञ्जको सीमा क्षेत्र रक्सौल, भैरहवाको सीमा क्षेत्र सुनौली जस्ता उच्च जोखिम क्षेत्रहरूमा पनि ड्रोन र एन्टी–ड्रोन उपकरण प्रयोग हुनेछन् ।
उत्तर प्रदेशको बालरामपुरमा हालै भएको उच्चस्तरीय बैठकमा प्रहरी, भन्सार, नारकोटिक्स कन्ट्रोल ब्यूरो, डिआरआई र विभिन्न गुप्तचर निकायका प्रतिनिधिहरूले नेपाल-भारत सीमा क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीको विषयमा छलफल गरेका छन् । बैठकमा सीमापार कट्टरपन्थी गतिविधि, मानव तस्करी र गैरकानुनी तस्करीलाई रोक्नेबारे पनि छलफल भएको हो ।
इस्लामिक संघ नेपाल (आइएसएन)लाई पाकिस्तान, टर्की, साउदी अरब र कतारबाट वित्तीय सहयोग प्राप्त भएको भारतीय सुरक्षा अधिकारीहरूले दाबी गरेको टाइम्स अफ इण्डियाले जनाएको छ ।
आइएसएनले नेपालमा धेरै मदरसा र मस्जिद सञ्चालन गरिरहेको र भारतीय भिसामा रहेका विद्यार्थीहरूलाई समेत प्रभावित गर्न खोजेको दाबी भारतीय सुरक्षा अधिकारीहरूको छ ।
हालैको सूचनाअनुसार पाकिस्तान-आधारित जैश–ए–मुहम्मद का तीन संलग्न आतंकवादीहरू नेपाल हुँदै बिहार प्रवेश गरेको जानकारी आएपछि सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।
भारतले सीमा नाकामा फेस-रिकग्निसन टेक्नोलोजी (अनुहार चिन्न सकिने प्रविधि) प्रयोग गर्नेछ । यस्तै भारत प्रवेश गर्ने सबै व्यक्तिको विवरण संकलन गर्न समग्र अभिलेखीकरण प्रक्रिया पनि लागू गरिनेछ ।
भारतीय सेना र वायुसेनाका मोबाइल उपकरण पनि सीमामा परिचालन गरिने टाइम्स अफ इण्डियाले जनाएको छ । यसका साथै सीमापार घटनाबारे अनुसन्धान र सूचनाको आदानप्रदान गर्न नेपाल प्रहरीको समन्वयमा संयुक्त कार्यदल पनि गठन गरिनेछ ।




प्रतिक्रिया