काठमाण्डु – इजरायली सेनाले गाजाका स्थानीयलाई शहर छाडेर जान निर्देशन दिएको छ ।
गाजापट्टीको सबैभन्दा ठूलो शहर खाली गरेर इजरायली सेनाले हमासविरुद्ध जमिनमार्फत् सिधा कारबाही गर्न थालेपछि शहर खालस् गर्न निर्देशन दिएको हो ।
२३ महिनादेखिको लडाइँमा इजरायली सेनाले गाजालाई पूर्ण रुपमा नियन्त्रणमा लिन सकेको छैन । इजरायली सेनाले हालैका दुई सातामा गरिएको कारबाहीमा गाजाको बाहिरी क्षेत्र नियन्त्रणमा लिएको दाबी गरेको छ । अब शहरको बाक्लो जनघनत्व भएको क्षेत्र मात्र बाँकी छ ।
बन्धक बनाइएका इजरायली नागरिकलाई गाजाका स्थानीयको ठूलो जनसंख्या भएको क्षेत्रमा लुकाएर राखेको इजरायली सेनाको दाबी छ । अझै पनि ४८ बन्धक हमासको कब्जामा रहेको बताइएको छ । जसमध्ये २० जना जीवित रहेको हुनसक्ने अनुमान गरिएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निर्देशनमा इजरायली सेनाले गाजालाई कब्जा गर्ने अभियान तीव्र पारेको छ ।
बाहिरी क्षेत्रका अधिकांश नागरिकले घर छाडेका छन् । शहरको मध्ये भागमा भने अझै लाखौं नागरिक रहेका छन् ।
इजरायली सेनाको घेराबन्दीका कारण उनीहरूलाई खाना र पानीसमेत सहज रुपमा पु¥याउन सकिएको छैन । इजरायल र हमासबीच युद्ध सुरु भएयता गाजामा ६४ हजार भन्दा धेरै प्यालेस्टिनी मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
दोस्रो अग्लो भवन भत्काइयो
इजरायली सेनाले गाजा शहरमा रहेको एउटा अग्लो भवन भत्काएको छ । यो लगातार दोस्रो दिन हो जब ठूलो टावरलाई निशाना बनाइएको छ ।
रक्षामन्त्री इजरायल काट्जले एक्समा भवन भत्किँदाको भिडियो साझा गरेका छन् । इजरायल रक्षा बलले हमासले सुसी टावर प्रयोग गरिरहेको बताएको छ । यद्यपि, हमासले यो दाबीलाई अस्वीकार गरेको छ ।
शनिबारको आक्रमण अघि, इजरायलले प्यालेस्टिनीहरूलाई मानवीय क्षेत्र भनिने दक्षिणतिर सर्न आग्रह गर्दै पर्चाहरू खसालेको थियो ।
सुसी टावर पछिल्ला केही दिनमा ध्वस्त भएको दोस्रो सबैभन्दा अग्लो भवन हो । शुक्रबार सामाजिक सञ्जालमा एउटा भिडियो सेयर गरिएको थियो जसमा शहरको अल–रिमल क्षेत्रमा रहेको मुशताहा टावर ठूलो विस्फोटपछि भत्किएको देखाइएको छ ।




प्रतिक्रिया