काठमाण्डु – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले वर्तमान राजनीतिक अवस्थालाई निकास दिनका लागि संविधानभित्रबाटै समाधान खोज्नु पर्ने सुझाव दिएका छन्।
सभामुख घिमिरे र अध्यक्ष दाहालले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै जनतामा निहित सार्वभौमसत्ता‚ नागरिक स्वतन्त्रता‚ भौगोलिक अखण्डता‚ राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपति रामचन्द्र पौडेलले गरेको पहलको स्वागत गरेका हुन्।
उनीहरूले आन्दोलनरत पक्षका मागहरू सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन पनि अपिल गरेका छन्।
वक्तव्यमा भनिएको छ, ‘देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन सम्माननीय राष्ट्रपतिज्यूले पहल गरिरहनुभएको छ। यस सन्दर्भमा विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन भन्नेमा हामी दृढ छौँ।’





प्रतिक्रिया