काठमाण्डु – मधेशमा जितिया पर्व सुरु भएको छ। आइतबारको निराहार व्रतअघि सन्तानवती मिथिलानी (मिथिलाका महिला)ले शनिबार ओगटन (दर खाने) को तयारीमा छन्। यो पर्व हिन्दू मैथिल परम्पराको हो।
प्राचीन मिथिला क्षेत्रमा पितृपक्ष (असोज कृष्णपक्ष)को अष्टमी तिथिमा सन्तानको कल्याणको कामनासहित यो पर्व आइतबार मनाइन्छ। व्रतअघिको रात (.ओगटन) खाने चलन छ। ओगटनमा दही, चिउरा र मिठा परिकारसहित सात्विक भोजन गरिन्छ।
पर्वमा सफा नयाँ वस्त्र लगाइने भएकाले र ओगटनका सामग्री जुटाउन मिथिलानी व्यस्त छन्। एक अहोरात्रको जितिया व्रत भोलिपल्ट नवमी तिथिमा एक घडी कटाएर समापन हुने चलन छ ।
मिथिलामा विद्यापति पञ्चाङ्ग र मिथिला पञ्चाङ्गका आधारमा तीर्थव्रतको टुङ्गो गरिन्छ। यसअनुसार यसपालिको जितिया समापन पर्सि सोमबार बिहान ७ बजे हुने राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीका कर्मकाण्ड शिक्षक शोभाकान्त झाले बताए।
जितिया व्रत सन्तानको सुख, समृद्धि र सौर्यवृद्धिको कामनासहित आमाले गर्ने पर्व हो। मिथिला क्षेत्रका सबै जातजातिमा यो पर्व परम्परा भए पनि थारु समुदायले यसलाई विशेष महत्व दिन्छ। पितृपक्षको यो पर्वमा व्रत बस्ने महिलाले एक दिनअघि, अर्थात् सप्तमी तिथिमा, बिहान पवित्र जलाशयमा नुहाएर सूर्य देवतालाई तोरीको तेल र पिनाको अर्घ्य चढाएर व्रतको सङ्कल्प गर्छन्।
यो पर्वमा व्रत बस्नेले राजा जितवाहनको कथा सुनेर आफ्ना छोरा उनीजस्तै परोपकारी र साहसी बनून् भन्ने कामना गर्छन्।
द्वापरयुगमा एक विधवा ब्राह्मणीको पुकारमा उनका पाँच मृत छोरालाई राजा जितवाहन (देवरूप)ले आफ्नो तपशक्तिबाट बचाएको पौराणिक कथाका आधारमा यो कठिन व्रत बस्ने परम्परा द्वापरयुगदेखि चलेको मैथिल जनविश्वास छ।





प्रतिक्रिया