काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेकी छन् । मन्त्रिपरिषद् विस्तार गर्दै उनले तीन मन्त्रीहरूलाई नियुक्त गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याललाई मन्त्री पदमा नियुक्त गरेकी हुन् ।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको उपस्थितिमा अर्याल, खनाल र घिसिङलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।
अर्याललाई गृहसँगै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । खनाल अर्थमन्त्री बनेका छन् भने घिसिङलाई ऊर्जा, भौतिक पूर्वाधार तथा निर्माण र सहकारी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
सभामुख देवराज घिमिरे तथा उपसभामुख इन्दिरा राना नवनियुक्त मन्त्रीहरुको शपथ समारोहमा पनि अनुपस्थित भएका छन् ।
वर्तमान सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी फागुनमा निर्वाचन तोकेपछि असन्तुष्ट बनेका उनी मन्त्रीहरूको शपथमा पनि नगएका हुन् ।
त्यसअघि प्रधानमन्त्री कार्कीको शपथ समारोहमा पनि सभामुख दाहाल र उपसभामुख राना अनुपस्थित थिए ।
शीतल निवासले सभामुख र उपसभामुख अनुपस्थित रहने जानकारी पाएपछि उनका लागि कुर्सीको व्यवस्था गरेको थिएन ।
मन्त्रीहरूको शपथ समारोहमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल भने सहभागी भए । तर उनी पनि प्रधानमन्त्री कार्कीको शपथमा भने देखिएका अनुपस्थित थिए ।
मन्त्रीहरूको शपथ कार्यक्रममा नेसपा (नयाँशक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई बाहेक अन्य पूर्वप्रधानमन्त्रीहरू उपस्थित थिएनन् ।
यस्तै विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू पनि शपथ ग्रहण समारोहमा देखिएनन् ।
समारोहमा पूर्वप्रधानमन्त्री भट्टराईसहित प्रधानसेनापति असोकराज सिग्देल, मुख्यसचिव एकनारायण अर्यालसहितका व्यक्तिहरू सहभागी थिए ।






प्रतिक्रिया