जेन जी आन्दोलनको छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने प्रक्रिया अन्तिम चरणमा

जेन जी आन्दोलनको छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने प्रक्रिया अन्तिम चरणमा

पूर्वन्यायाधीश कार्कीलाई जिम्मेवारी दिने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भदौ २३ र २४ गते जेनजी प्रदर्शनको क्रममा देशैभर भएका घटनाहरूको सम्बन्धमा छानबिन गर्न न्यायिक जाँचबुझ आयोग गठन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

सरकारले विशेष अदालतका पूर्वअध्यक्ष तथा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने तयारी गरेको छ ।

घटनामा राज्य पक्षबाट भएको कमजोरी र दोषीबारे आयोगले छानपबन गर्नेछ । पदभार सम्हालेकै दिन प्रधाननमन्त्री कार्कीले आन्दोलनमा सरकारी, सार्वजनिक र निजी सम्पत्ति तोडफोड र आगजनीमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाएकी थिइन् ।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा सोमबार बसेको मन्त्रिपरिषद्ले न्यायिक जाँचबुझ आयोग गठन गर्ने विषयमा सैद्धान्तिक निर्णय गरेको छ । बैठकले कार्कीको अध्यक्षतामा आयोग बनाउने विषयमा पनि सहमति जनाएको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार अब आयोगको संरचना कस्तो हुने भन्नेबारे मात्र टुंगो लाग्न बाँकी छ । आयोगमा तीन जना सदस्य रहने छ ।

‘मन्त्रिपरिषद्को अब बस्ने बैठकबाटै यसबारे निर्णय हुनेछ’, स्रोतले भन्यो ।

यसअघि राष्ट्रिय मानवअधिकार आयोगले पनि प्रदर्शनका क्रममा भएको मानवअधिकार उल्लङ्घनका घटनामा आायोगकै सदस्य लीली थापाको नेतृत्वमा कार्यदल बनाएको छ । कार्यदललाई ४५ दिनभित्र प्रतिवेदन तयार पार्ने गरी काम अघि बढाइएको छ ।

जेनजी प्रदर्शनका क्रममा युवा, सुरक्षाकर्मी, कैदी बन्दी र अन्य गरी हालसम्म ७३ जनाको मृत्यु भएको छ । साथै महत्त्वपूर्ण सरकारी संरचना समेत ध्वस्त भएको छ ।