काठमाण्डु – डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएको घटनाको छानबिन गर्न कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) जयराज सापकोटा र केन्द्रीय तहबाट पाँच सदस्यीय टोली डोल्पा पुगेका छन् ।
केन्द्रीय टोलीको नेतृत्व कर्णाली प्रदेश कार्यालय नेपालगन्जका एसएसपी राजीव बस्नेतले गरेका छन्। दुवै टोलीले कारागारको सुरक्षा व्यवस्थापन, कैदीबन्दी फरार हुनुअघिको अवस्था, सुरक्षाकर्मीको जिम्मेवारी र निगरानीमा भएको कमजोरीबारे स्थलगत अध्ययन गर्ने कर्णाली प्रदेशका एसएसपी सन्तोससिह राठौरले बताए । डीआईजी र केन्द्रको टोलीले पुगेर स्थलगत अनुगमन र अध्ययन गर्ने उनको भनाइ छ ।
कारागारको भित्री पर्खाल र बाहिरी कम्पाउन्ड भत्काएर करिब साढे तीन मिटर लामो सुरुङ खनी आठ जना कैदीबन्दी फरार भएपछि सुरक्षा व्यवस्थापनमाथि प्रश्न उठेको छ। घटनाबारे बुझ्न पुगेका डीआईजी सापकोटाले कारागारको सुरक्षा व्यवस्थापनमा गम्भीर लापरबाही भएको देखिएको बताए ।
लागुऔषध कारोबारको घटनापछि कारागारका ड्युटी इन्चार्ज परिवर्तन गरिएको तीन दिनमै कैदीबन्दी फरार भएका थिए। नयाँ इन्चार्ज खटाइएको तीन दिनमै शुक्रबार राति कैदीबन्दी फरार भएको प्रमुख जिल्ला अधिकारी जुनु हमालले बताएकी थिइन्।
शनिबार बिहान ६ बजे कैदीबन्दी गणना गर्दा आठ जना अनुपस्थित भेटिएपछि घटना सार्वजनिक भएको थियो। प्रारम्भिक अनुसन्धानअनुसार कैदीबन्दीले कारागारको भित्री पर्खाल र बाहिरी कम्पाउन्डका संरचना भत्काएर सुरुङ बनाएका थिए।
सुरुङ खन्ने क्रममा बीचमा सेप्टिक ट्यांकी परेपछि त्यसलाई छल्दै बाहिर निस्किएको पाइएको छ। सुरुङको लम्बाइ करिब साढे तीन मिटर र गहिराइ चारदेखि पाँच फिट रहेको प्रमुख जिल्ला अधिकारी हमालले बताइन्।
फरार हुनेमा जबरजस्ती करणी मुद्दाका पाँच र चोरी मुद्दाका तीन जना छन्। उनीहरूमध्ये छ जना कैद सजाय भुक्तान गरिरहेका र दुई जना पुर्पक्षका लागि थुनामा रहेका थिए।
घटनाको अनुसन्धान गर्न यसअघि प्रहरी निरीक्षक विनयकुमार सिंहको संयोजकत्वमा तीन सदस्यीय जिल्ला छानबिन समिति गठन गरिएको थियो। केन्द्रीय टोलीसमेत पुगेपछि कारागार प्रशासनको भूमिका, सुरक्षामा खटिएका कर्मचारीको जिम्मेवारी र सम्भावित लापरबाहीबारे थप अनुसन्धान हुने भएको छ। घटनापछि फरार कैदीबन्दीको खोजीका लागि प्रहरीले सम्भावित नाका तथा आवतजावतका क्षेत्रमा निगरानी बढाएको छ।
यसबीच कारागारबाट फरार दुई कैदी रुकुम पश्चिमबाट पक्राउ परेका छन् । डोल्पाको ठूलीभेरी नगरपालिका–३ स्थित जिल्ला कारागारबाट फरार भएका आठ कैदीबन्दीमध्ये दुई जनालाई पक्राउ गरिएको एसएसपी सन्तोषसिंह राठौरले बताए ।
आठबिसकोट नगरपालिका–६ दामाचौरस्थित खोली बगरबाट वडा नं. ९ राडीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०८३१ नम्बरको डबल क्याब बोलेरो जिप जाँच गर्ने क्रममा भाग्न खोजेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना छन्। दुवै जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन् ।


प्रतिक्रिया