काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले अरनिको राजमार्गअन्तर्गत २ सडक खण्डको सोमबार अवलोकन गरेका छन् ।
विस्तारित २ खण्ड सूर्यविनायक–धुलिखेल तथा धुलिखेल–खावा सडकखण्डको अनुगमन गरी चाडपर्वमा यात्रा सहज बनाउन उनले निर्देशन दिए ।
मन्त्री घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, आयोजना प्रमुख तथा निर्माण व्यवसायीसँग छलफल गरी चाडपर्वलाई ख्याल गर्दै आवागमनलाई सहज बनाउन निर्देशन दिए । ‘सडकमा खाल्डाखुल्डी पुरेर भए पनि यात्रा सहज बनाउन निर्देशन दिनुभएको छ । हामी सोहीअनुसार तयारी गर्दैछौं,’ मन्त्री घिसिङले भने ।
सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनीयर सुमन योगेशले विस्तारित अरनिको राजर्मागका राजमार्गको क्षतिग्रस्त सडकमा खाल्डाखुल्डी पुरेर यात्रा सहज गराउन हाल आवश्यक जनशक्तिसहित उपकरण प्रयोग गरिएको बताए । घिसिङले चालू आर्थिक वर्षभित्र सडक विस्तार कार्य सम्पन्न गर्न र त्यसका लागि बजेट अभाव हुन नदिन मन्त्रालयले पहल गर्ने बताए ।
यसैबीच, वर्षाका कारण रोकिएको अरनिको राजमार्गअर्न्तगत सूर्यविनायक–धुलिखेल सडकखण्डमा स्तरोन्नतिको काम भदौदेखि पुन: सुरु गरिएको छ । बनेपा नगरपालिका–१० स्थित जनागाल क्षेत्रमा कालोपत्र गर्ने प्रक्रिया थालिएको आयोजनाले जनाएको छ । सडक कालोपत्र गर्नका लागि सीटीबीको काम भइरहेको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ ।




प्रतिक्रिया