आज एकैदिन ३ हजार ९ सय रुपैयाँले बढ्यो सुनको भाउ

आज एकैदिन ३ हजार ९ सय रुपैयाँले बढ्यो सुनको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मंगलबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ३ हजार ९ सय रुपैयाँले बढेको हो ।

हिजो २ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख २१ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ २६८० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

नेपालमा सुनको मूल्य बढ्नुको प्रमुख कारणमध्ये एक विश्वबजारमै सुनको मूल्य बढ्नु हो । विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्दा,जस्तै अमेरिका–चीन व्यापार द्वन्द्व, युरोपेली बजारमा महँगी, वा मध्यपूर्वमा युद्धजस्ता घटनाले लगानीकर्तालाई सुरक्षित विकल्पतर्फ आकर्षित गर्छन् । सुनलाई ‘सेफ हेवन’ (सुरक्षित आश्रय) मानिने भएकाले यस्ता घटनामा यसको मूल्य आकस्मिक रूपमा बढ्छ ।

त्यसैगरी, नेपालले सुन आयात गर्ने क्रममा अमेरिकी डलरमा भुक्तानी गर्नुपर्छ । डलर बलियो हुँदा रुपैयाँ कमजोर हुन्छ, जसको सीधा असर सुनको मूल्यमा पर्छ । पछिल्ला वर्षहरूमा रुपैयाँ कमजोर बन्दै गएकाले आयातित सुनको मूल्य बढेको हो ।

अमेरिकी सरकारले विभिन्न देशलाई लगाएको ट्यारिफ वा व्यापार युद्धले गर्दा पनि नेपालमा त्यसको प्रभाव पर्न गई सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसका साथै, विश्वका विकसित मुलुकहरूले नै अहिले अमेरिकी डलरलाई रिजर्भ करेन्सीबाट हटाएर विकल्प खोज्न थालेकाले त्यसको प्रत्यक्ष प्रभाव विश्व अर्थतन्त्रमा पर्न गई सुनको मूल्य निरन्तर उकालो लागेको महासंघका अध्यक्ष अर्जुन रसाइली बताउँछन् ।

उनका अनुसार, नेपालमा शेयर बजार अस्थिर छ भने बैंकमा लगानी गर्दा ब्याजदर अपेक्षाकृत कम छ । यस्तो अवस्थामा सर्वसाधारणदेखि व्यवसायीहरूसम्म सुनलाई सुरक्षित लगानीको विकल्पका रूपमा रोज्छन् । यसले भित्री बजारमै माग बढाउँछ र मूल्य वृद्धि हुन्छ ।