अबका सम्भावित मन्त्रीहरू : युवा अनुहारलाई प्राथमिकता, शुक्रबारसम्म शपथ

अबका सम्भावित मन्त्रीहरू : युवा अनुहारलाई प्राथमिकता, शुक्रबारसम्म शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् हालसम्म ८ सदस्यीय छ । संविधानअनुसार मन्त्रिपरिषद् २५ सदस्यीय बनाउन सकिन्छ तर जेनजी आन्दोलनको जगमा बनेको सरकारले सानो मन्त्रिमण्डल बनाउन चाहेको छ ।

मन्त्रिमण्डलमा अझै ४–५ जना नियुक्त हुनसक्ने सम्भावना छ । हालसम्म अनुभवी र विज्ञ व्यक्तिहरूलाई मन्त्री नियुक्ति गरिए पनि अब मन्त्रिपरिषद् विस्तार हुँदा युवा अनुहारलाई प्राथमिकतामा राखिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

अबको मन्त्रिपरिषद् विस्तारमा श्रद्धा श्रेष्ठलाई मन्त्री बनाउन छलफल चलिरहेको छ । उनी नेपाल पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धक हुन् । पर्यटन क्षेत्रमा विशेष अनुभव बटुलेकी उनलाई सरकारमा भित्र्याउने तयारी छ ।

टेक उद्यमी प्रदीप खतिवडा पनि सम्भावित मन्त्रीको सूचीमा परेका छन् । युवा अभियन्ता खतिवडा युवाको हकहितका क्षेत्रमा कार्यरत छन् । खतिवडा प्रविधि उद्यमी, जलवायु अभियन्ता र युवा नेता समेत हुन् । उनले पछिल्लो १४ वर्षदेखि नेपालमा सामाजिक नवप्रवर्तन र युवा सशक्तीकरणको क्षेत्रमा काम गर्दै आएका छन् ।

उनी युथ इनोभेसन ल्याबका कार्यकारी निर्देशक समेत हुन् । ल्याबले विपद् पोर्टल र रिस्क एआई जस्ता नागरिक–प्रविधिको विकास गरेको छ । उनले विपद् व्यवस्थापन, पूर्वसूचना प्रणाली र डिजिटल सुशासन सम्बन्धी कार्य गर्दै आएका छन् ।

जेनजी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी रक्षा बमलाई पनि मन्त्री बनाउने तयारी रहेको उच्च स्रोतले जनाएको छ । उनले सरकारमा जेनजीको वास्तविक प्रतिनिधित्व गर्ने स्रोतले जनाएको छ ।

मन्त्री बनाउने अर्काे सम्भावित नाम हो ताशी ल्हाजोम । उनी चर्चित युवा जलवायु अभियन्ता हुन् । उनले स्थानीय तहदेखि राष्ट्रिय र विश्वव्यापी मञ्चसम्म जलवायु विषयवस्तुमा विचार राख्दै आएकी छन् ।

सरकारमा युवा प्रतिनिधित्व सुनिश्चित गर्दै जेनजी आन्दोलनको भावनालाई सम्मान गर्ने तयारीमा प्रधानमन्त्री कार्की रहेकी स्रोतले जनाएको छ । आगामी शुक्रबारसम्म नयाँ मन्त्रीको शपथग्रहण गराउने तयारी रहेको बताइएको छ ।