आगोले खन्डर बनेको भवनमै मधेश प्रदेशसभा बैठक

आगोले खन्डर बनेको भवनमै मधेश प्रदेशसभा बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – जेनजी आन्दोलनको क्रममा आगोले खन्डरमा परिणत भएको मधेश प्रदेशसभा भवनबाट पुन: प्रदेश सभाको बैठक सुरु भएको छ ।

कतैकतै टालटुल त कतै आगोको धुँवाले कालो परेको भित्ता मर्मतको क्रममै रहँदा मंगलबारबाट छैठौं अधिवेशनको बैठक सुरु भएको छ ।

मंगलबारको बैठकमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र उनकै पार्टीका अन्य सांसदहरू २ कित्तामा बाँडिएको देखापरेको छ । मुख्यमन्त्री सिंह बाहेकका जनमतका प्रदेशसभा सदस्यहरू प्रतिपक्षीतर्फ बसेका छन् ।

जेनजी आन्दोलनको क्रममा मुख्यमन्त्री सतिस सिंहले फेसबूकमार्फत राजीनामा घोषणा गरेका थिए तर प्रदेश प्रमुख कार्यालयमा आधिकारिक राजीनामा पत्र बुझाएका थिएनन् ।

पछि उनले संघीयता बचाउनका निम्ति राजीनामा घोषणा गरेको अभिव्यक्ति दिएका थिए । त्यसपछि जनमत पार्टी मधेश प्रदेशका दलका नेता महेश यादवले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोध्नुका साथै मुख्यमन्त्रीसहित प्रदेशमा रेहका सम्पूर्ण जनमतका नेतालाई फिर्ता बोलाइएको पत्र प्रदेश प्रमुखलाई बुझाएका थिए । त्यसपछि मुख्यमन्त्री सिंहले प्रदेश सभामा विश्वासको मत लिने प्रतिक्रिया दिँदै आएका थिए ।

जनमत पार्टीका दलका नेता महेश यादवले सभामुख रामचन्द्र मण्डललाई आफूहरू प्रतिपक्षमा बस्ने भनेपछि उनले सोहीअनुसार सिटको व्यवस्थापन गराउन लगाएका थिए । तर मुख्यमन्त्री सिंह भने सत्तापक्षमा रहेका अन्य दलहरू सहितको स्थानमा बसेका थिए ।

मंगलबारको बैठकमा जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभ कामनासहित मृत्यु भएकाहरूप्रति शोक प्रस्ताव पेश गरिएको थियो । टेबुलको अभावमा सभामुख मण्डलले हात उठाएर प्रस्तावमा समर्थन जनाउन आदेश दिएका थिए । मधेश प्रदेश सभाको अर्को बैठक असोज ८ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।