एमाले सचिव भट्टराईको आग्रह-सम्मानसहित पार्टी पुनर्गठन गरौं

एमाले सचिव भट्टराईको आग्रह-सम्मानसहित पार्टी पुनर्गठन गरौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले)का सचिव योगेश भट्टराईले पार्टी पुनर्गठन गर्न सुझाव दिएका छन् ।

सचिव भट्टराईले बिहीबार एक अपील जारी गरी एमाले र कम्युनिस्ट आन्दोलनलाई नयाँ चेतनासहित पुनर्गठन गर्ने बेला आएको भन्दै नेतृत्वको सम्मानसहित पार्टी पुनर्गठनको प्रस्ताव राखेका छन् ।

भट्टराईलो लामो लिखित र भिडिओ अपील जारी गर्दै परिवर्तित सन्दर्भलाई बुझ्न र संकटले सिर्जना गरेर नयाँ चेतनाबाट पार्टी पुनर्गठन गर्न आवश्यक रहेको बताएका छन् । उनले पुनर्गठनको अर्थ अहिलेको नेतृत्वको अपमान वा प्रहारको रूपमा कतैबाट पनि व्याख्या गर्न नहुने स्पष्ट पारेका छन् ।

‘ग्राम्सीले भने जस्तै अब एमालेलाई र कम्युनिष्ट आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्नेछ । फेरि पार्टी र आन्दोलनको पुनर्गठन गरिरहँदा हामीले इतिहासको बेवास्ता र अपमान कदापि गर्नुहुन्न’ सचिव भट्टराईले भनेका छन् ।

‘पार्टीका नेताहरू जो आज नेतृत्वमा हुनुहुन्छ, लामो समय तपाईँ–हामी पनि उहाँहरूसँगै थियौँ । यो जस–अपजसको भागीदार हामी पनि हौँ । त्यसैले म यो बेला भन्छु–उहाँहरूको सम्मान सहित पुनर्गठन,’ उनले भनेका छन्, ‘फेरि यहाँनिर पुनर्गठन र रूपान्तरणको बहस गरिरहँदा वर्तमान मूल नेतृत्वप्रतिको प्रहारको रूपमा जबरजस्ती कहीँ कतैबाट उत्तेजनापूर्ण व्याख्या गरिएको पनि सुनिन्छ ।’

उनले यो आन्दोलनको वैभव, संगठनको साम्राज्य र अजेय विचार रह्यो भने न उहाँहरूको सम्मान र इतिहास रहने भन्दै दुनियाँको इतिहास, लेनिन र मार्क्सका शालिकहरु ढालिएका इतिहास सम्झन आग्रह गरेका छन् ।

‘इतिहासको सम्मान वर्तमानप्रतिको सचेत निर्णय र भविष्य निर्माणको आधार पनि हो । पुनर्गठन र रूपान्तरणको आवाजलाई हाम्रो आदरणीय नेताहरूमाथिको प्रश्न अथवा अपमानको रूपमा अर्थ लगाउनु सर्वथा गलत हो । वस्तुतः यो व्याख्या गर्नेहरू नै हाम्रो नेतृत्वको सम्मानका बाधक हुन्’ भट्टराईले उल्लेख गरेका छन् ।

यस्तो छ भट्टराईको अपील

आदरणीय जनसमुदाय

प्रिय कमरेडहरु,

 ‘जेनजी’ प्रर्दशनमा ज्यान गुमाउनु हुने सबैमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

 भदौ २३ गतेको ‘जेनजी’ आन्दोलन र भदौ २४ गतेको विध्वंसपछि तपाईं–हामी विस्तारै आफ्नो दैनिकीमा फर्किरहेका छौं । तर यसले छोडेको असर भने युगांैसम्म रहनेछ । भदौ २३ गतेको आन्दोलनले हाम्रो राजनीतिक सत्ता र संरचनामा असाधरण बदलाब ल्याएको छ ।

 भदौ २४ को अकल्पनीय विध्वंसले हाम्रो आर्थिक संरचना भताभुंग बनाएको छ, हाम्रो सामाजिक मानसपटलमा गहिरो दर्दहरु छोडी गएको छ, हामीले आजसम्म बचाएर ल्याएको सांस्कृतिक मूल्यहरुमा घाउचोट लागेको छ । मुलुकलाई अनिश्चयको अँध्यारो सुरुङ्गतिर लैजाने चिन्ताहरु पनि उत्तिकै छ । मलाई लाग्छ, ती निराशा र अनिश्चय सम्बोधनको पहिलो शर्त हो, भदौ २३ ले दिएको सन्देश ग्रहण गर्नु र त्यसमा अभिव्यक्त भावनाको वस्तुगत सम्मान गर्दै राज्य समाज र पार्टी संरचनामा बहुआयमिक रुपान्तरण गर्नु अनिवार्य र पहिलो शर्त हो ।

 भदौ २३ मा सामाजिक सञ्जाल बन्दको बिरोध र सुशासनको माग राखेर सडकमा उत्रिएका जेन–जीमाथि तीव्र दमन भयो । यो दमनको न्यायिक छानविन हुनुपर्छ । एकातिर आफ्नो माग र भावनाहरुप्रतिको अपमान÷ वेवस्ता गरिएको निकष्र्ष अर्कातिर आफ्ना निहत्था साथीहरुमाथि भएको बर्बर दमनप्रतिको आक्रोश । त्यही मौका छोपेर फरकफरक स्वार्थ बोकेका गलत समूहबाट भदौ २४ मा जेन–जी आन्दोलन दूरुपयोग भयो । आन्दोलनमा श्रृखलाबद्ध र संगठित घुसपैठ गरियो । अपराधिक गतिविधि भयो । हाम्रा राष्ट्रिय सम्पदा र सम्पतिहरुमा आगो झोसियो । निजी तथा व्यावसायिक संरचनामामाथि आगजनी र तोडफोड गरियो । हाम्रा इतिहास र गौरव जोडिएका संरचनाहरु खण्ड भए । आफ्नो समयमा परिर्वतन र रुपान्तरणमा महत्वपूर्ण योगदान गर्नु भएका हाम्रा नेताहरुमाथि आक्रमण भयो, घर जलाइयो । यसले भदौ २३ गते जेन–जीहरुले पवित्र माग राखेर गरेको व्रिदोहलाई बदनाम र विद्रुप बनायो । विश्वसामु लज्जाबोधको अवस्था आयो। भदौ २४ गतेको अकल्पनीय विध्वंस देश र जेन–जीहरुको भावना र आर्दश विरुद्धमा थियो । यसको सत्यतथ्य छानविन हुनुपर्छ ।

 नेपालको पछिल्लो घटनाका बारेमा भूराजनीति र अन्तराष्ट्रीय शक्ति केन्द्रको भूमिको पनि चर्चा हुने गरेको छ । आज म त्यतातिर धेरै चर्चा गर्न चहान्न । भोलीका दिनमा सबै कुरा उद्घाटित हुदै जानेछन् । एउटा भनाई छ, ‘अर्कालाई दोष लगाउनु पूर्व आफ्नौ थैली बलियो गरी कस्नु ।’ छिमेकी मित्र राष्ट्रहरु तथा अन्य मित्र राष्ट्रहरुलाई म भन्न चहान्छु, ‘तपाईंहरुले नेपालको लोकतन्त्रिक प्रक्रिया र नेपालीहरुको विकासको चाहनालाई गर्दै आउनु भएको सहयोगप्रति धन्यवाद छ । तर आजको अस्थिर र अनिश्चयमा नेपाललाई प्रयोगशाला बनाउने प्रयास हुनेछैन भन्ने मेरो गहिरो विश्वास छ । संबिधानको रक्षा र लोकतान्त्रिक प्रक्रियाको पुर्नजीवनको लागि तपाईंहरुको सकरात्मक सद्भाव भने अपेक्षित छ ।’

कमरेडहरु,

 हो, हाम्रा सामु एकातिर पीडाहरु छन्, हतासा छ, निराशाहरु छन्, अर्कातिर सिंगो एउटा पुस्ताको आक्रोश पनि । यो सँगसँगै आशा र अपेक्षाहरु पनि छन् । सबैभन्दा बढी प्रश्नहरु छन् । तपाईहरुले आक्रोश र आशाको नजरले हामीलाई सोधिरहनु भएको छ, ‘अब तिमिहरुले हिंड्ने बाटो कुन हो ?’ बदलिन्छौं की उस्तै बस्छौं ?

मैले सामाजिक सञ्जाल हेरीरहेको छु, सञ्चार माध्यमहरु पढिरहेको छु । तपाईंहरुले हामीलाई सोधिरहनु भएको छ, ‘तिमिहरुसँग आत्मालोचना र स्वीकारोक्ति छैन ?’ आफ्ना कमजोरीहरुप्रति माफी माग्दैनौं ? यसअघि पनि मैले भदौ २४, २५ र २८ गते सामाजिक सञ्जालमार्फत केही कुरा राखेको थिएँ । हो, असल प्रयास र प्रयत्नहरु जारी थिए । अनेक सीमा, अबरोध र अप्ठ्याराहरुको विचमा पनि प्रयासहरु प्रयत्नहरु जारी थिए भन्ने लाग्छ । तर सब ठिकठाक थिएनन् भन्ने पुष्टी २३ भदौले गरीसकेको छ । यो सत्यलाई हामीले स्वीकार गर्नुपर्छ । र हामीले भन्नुपर्ने हुन्छ, ‘बदलिएका आबश्यकता र अपेक्षाहरु पुरा गर्न सफल नभएकोमा हामी माफी चहान्छौं ।’

 यो बेला ‘नियन्त्रित अस्थितरता’का चिन्ताहरु पनि प्रकट भएका छन् । सार्वभौमिकता, राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमान रक्षाको गहिरो चासो प्रकट भएका छन् । कतिपयहरुले व्यवस्थामाथिको प्रश्न पनि नउठाएका होइनन् । फेरि पनि त्यसको लागि संबिधानको रक्षा पहिलो शर्त हो । हामीले जुन व्यवस्था अपनाएका छौं, राजनीतिक दलहरु नै यसको समाधान हुन् । नयाँ पुस्ताको भावना र माग सम्बोधन सहित निर्वाचन मार्फत संबिधानलाई ‘ट्रयाक’मा ल्याउनु हाम्रो पहिलो काम हो । केही परिमार्जन आबश्यक रहेछ भने पनि संबिधानले देखाएको बाटो बाटै परिमार्जन गर्न सकिन्छ । तर, आज अत्याधिक सोधिएको प्रश्न हो, ‘यही राजनीतिक नेतृत्व, संरचना र मनोविज्ञानबाट सम्भव छ ?’ हामीप्रति आशाले हेरिरहनु भएका अधिकांस बुद्धीजीवि, नेत तथा कार्यकर्ता, शुभेच्छकहरुको भनाई छ, ‘अब पुनर्गठन विना सम्भव छैन । माक्र्सवादले भन्छ, ‘अवस्था बदलिएपछि चेतना पनि बदलिन्छ ।’ अवस्थामा बदलाब आएपछि मानिसको सोच, विचार, चेतना पनि उसैगरी बदलिन्छ । चेतना अवस्थासँगै विकसित हुन्छ र वर्ग संघर्षले यसलाई नयाँ स्तरमा पु¥याउँछ । अवस्था अभूतपूर्व रुपमा बदलिएको छ । भदौ २२ र आज उस्तै हुँदै होइन । आज हामी विलकुल नयाँ चेतनामाथि उभिएका छौं । दार्शनिक एन्टोनियम ग्राम्सी भन्छन्, ‘संकटको समयमा पुराना विचारहरू मर्छन् तर नयाँ जन्मिन हिच्किचाउँछन् यतिखेर आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्छ ।’

 कमरेडहरु, ग्राम्सीले भने जस्तै अब नेकपा (एमाले)लाई, कम्युनिष्ट आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्नेछ । फेरि पार्टी र आन्दोलनको पुनर्गठन गरीरहदा हामीले इतिहासको वेवस्ता र अपमान कदापी गर्नु हुन्न । पार्टीका नेताहरु जो आज नेतृत्वमा हुनुहुन्छ, लामो समय तपाईं–हामी पनि उहाँहरुसँगै थियौं । यो जस–अपजसको भागीदार हामी पनि हौं । त्यसैले म यो बेला भन्छु, ‘उहाँहरुको सम्मान सहित पुनर्गठन ।’ फेरि यहाँनिर पुनर्गठन र रुपान्तरणको बहस गरीरहदा वर्तमान मुल नेतृत्वप्रतिको प्रहारको रुपमा जबरजस्ती कही कतैबाट उत्तेजनापूर्ण व्याख्या गरिएको पनि सुनिन्छ । म तपाईहरुलाई भन्न चहान्छु, ‘कमरेडहरु, यो आन्दोलनको वैभव, संगठनको साम्राज्य र अजेय विचार रह्यो भने न उहाँहरुको सम्मान रहन्छ । इतिहास रहन्छ ।’ सम्झिनुहोस् त, दुनियाँको इतिहास । लेनिनका, माक्र्सका शालिकहरु ढालिएका इतिहास तपाई हामीले पढेका छौं । हाम्रो नेताहरुको इतिहासको रक्षा र सम्मान त्यति बेला मात्रै हुन्छ, जतिबेला हाम्रो आन्दोलन रहन्छ । इतिहासको सम्मान वर्तमानप्रतिको सचेत निर्णय र भविष्य निर्माणको आधार पनि हो । पुनर्गठन र रुपान्तरणको आवाजलाई हाम्रो आदरणीय नेताहरुमाथिको प्रश्न अथवा अपमानको रुपमा अर्थ लगाउनु सर्बथा गलत हो । बस्तुत ः यो व्याख्या गर्नेहरु नै हाम्रो नेतृत्वको सम्मानका बाधक हुन् ।

 हामीलाई थाहा छ, जब १९९१ मा सोभियत ढल्यो । सोभियत पतनले अन्तर्राष्ट्रिय स्तरमा कम्युनिष्ट आन्दोलन ठुलो संकट आयो । सोभियतको पतन कम्युनिष्ट आन्दोलनको अवस्थाको धेरै ठुलो परिर्वतन थियो । स्वभाविक रुपमा चेतनाहरु पनि बदलिए । आन्दोलन रक्षात्मक भयो । त्यही बदलाबपछि जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवाद (जबज)को प्रतिपादन गर्नुभयो । नयाँ चेतनाको निर्माण भयो । र नेपाली कम्युनिष्ट आन्दोलन यहाँसम्म आइपुगेको हो । २०६१ माघ १९ मा तात्कालिन राजा ज्ञानेन्द्रले संबिधान र लोकतान्त्रिक प्रणालीमाथि ‘कु’ गर्दा पनि समाज र पार्टीमा आजको जत्तिकै संन्नटा छाएको थियो । त्यसबेला पार्टीकै युवा पुस्ताले अग्रसता लिएर पार्टी पुर्नगठनको बहस चलायो । अन्ततः नेकपा (एमाले)को नवौं महाधिवेशनले पार्टी पुर्नगठनको एजेन्डा स्वीकार गर्यो । पार्टीको आन्तरिक लोकतन्त्रलाई प्रणालीगत रुपमा स्थापित ग¥यो । पार्टी बच्यो, आन्दोलन सफल भयो । नेतृत्वको सम्मान पुनस्थापित भयो । पार्टीमा नयाँ पुस्ताको प्रभावशाली प्रवेश भयो । हामी सबैले त्यो क्षणलाई पुन स्मरण गरौं ।

 त्यसैले कमरेडहरु, अहिले हामीले संबिधानको रक्षा गर्नुछ, हाम्रो सार्वभौमिकता राष्ट्रिय एकता र स्वाभिमानको रक्षा गर्नुछ । त्यसको लागि हामी सम्हालिएर नेकपा (एमाले) र कम्युनिष्ट आन्दोलनको रक्षा गर्नुछ । आवेग वा आरोप, प्रतिशोध वा प्रतिरक्षामा होइन वस्तुगत अवस्थालाई स्वीकार गर्ने सहास गर्नुपर्छ ।

 हाम्रो पार्टी, आन्दोलनलाई असाधरण योगदान गर्नु हुने तमाम नेता, कार्यकर्ता, बुद्धिजीवीहरु, आन्दोलनका सक्रिय समर्थक तथा शुभचिन्तकहरु, जसले हामीलाई आशाका नजरले हेरीरहनु भएका आम जनसमुदाय सबैलाई म भन्न चहान्छु, ‘गल्ती र कमजोरीहरुबाट हामी सिक्नेछौं । र पार्टी र आन्दोलनलाई पुर्नगठन गर्नेछौं ।’ माक्र्सले भन्नु भएको छ, ‘इतिहासमा कुनै पनि अवस्था स्थायी हुँदैन । निराशाको गर्भमै परिवर्तनको सम्भावना लुकेको हुन्छ ।’ यो निराशा र संकटको अवस्था स्थायी होइन । इतिहासमा हामीले ठुल्ठुला संकट र आँधीवेहरी पार गरेरै यहाँसम्म आएका हौं । तर इतिहासका हरेक संकटका हरेक घुम्ती र मोडहरुमा हामी पुर्नगठित भएको सत्यलाई पनि हामीले मनन गर्नु जरुरी छ । त्यही स्वीकारोत्ती सहितको अभियानको लागि अपिल समेत गर्दछु । आत्मभत्र्सना बन्द गरौं, आत्मसमिक्षा ढटेर गरौं । भनिन्छ नी कमजोरी स्वीकार कमजोरहरुले गर्न सक्दैनन् । लेनिनले भन्नु भएको छ, ‘क्रान्तिकारी आन्दोलनले आफ्ना कमजोरीलाई स्वीकार नगरेसम्म सुधार र प्रगति सम्भव हुँदैन । कमजोरी लुकाउनु भनेको दुश्मनलाई बलियो बनाउन सहयोग गर्नु हो ।’ हामी एक्ला एक्लै होइन सँगै बसेर सामूहिक ढंगले समस्याको हल खोजौं, खुला खुलस्त हौं । सबैको अस्तीत्व र भूमिकालाई स्वीकार गरौं । हामी हाम्रो पार्टी र आन्दोलनको सहयोगी बन्ने समय हो यो, न की लेनिनले भने जस्तै अरु कसैको ।

योगेश भट्टराई
सचिव, नेकपा (एमाले)
मिति : ९ असोज २०८२