काठमाण्डु – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले औषधि आयातमा १०० प्रतिशतसम्म भन्सार शुल्क लगाउने घोषणा गरेका छन्।
उनले ब्राण्डेड र पेटेन्टेड औषधि आयातमा कर लगाउने र आगामी अक्टोबर १ देखि नै लागू हुने घोषणा गरेका हुन्।
अमेरिकी ट्रम्पले आउँदो अक्टोबर १ देखि लागू हुने गरी औषधि, किचन क्याबिनेट, बाथरुम भ्यानिटी, गद्देदार फर्निचर र मालवाहक ट्रकलगायत आयातित वस्तुमा नयाँ ‘ट्यारिफ’ लगाउने घोषणा गरेका हुन् ।
उनले औषधिमा १००, किचन क्याबिनेट र बाथरुम भ्यानिटीमा ५०, फर्निचरमा ३० र ट्रकमा २५ प्रतिशत आयात कर लगाइने बताएका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत यसबारे जानकारी गराएका हुन् ।
औषधिमा नयाँ आयात कर अमेरिकामा उत्पादन प्लान्ट बनाइरहेका वा निर्माण कार्य सुरु गरिसकेका कम्पनीमा लागु नहुने उनले बताएका छन् । तर, पहिलेदेखि नै अमेरिकामा कारखाना रहेका कम्पनीमा यो छुट लागु हुने वा नहुने अझै स्पष्ट छैन ।
अमेरिकी जनगणना ब्युरोका अनुसार, सन् २०२४ मा अमेरिकाले करिब २३३ अर्ब डलरबराबरका औषधि तथा औषधीय उत्पादन आयात गरेको थियो । यसरी औषधिको मूल्य दोब्बर हुने आशंकाले सर्वसाधारणको स्वास्थ्य खर्चसँगै मेडिकेयर र मेडिकेड योजनामाथि पनि थप बोझ पर्न सक्ने जनाइएको छ ।
ट्रम्पका अनुसार, यी महसुलले सरकारको बजेट घाटा कम र घरेलु उत्पादनलाई प्रोत्साहन गर्ने अपेक्षा छ । तर, विज्ञले यसले महँगी अझ बढाउने र आर्थिक विकासमा असर पार्ने चेतावनी दिएका छन् ।
विशेष गरी औषधिमा लगाइने १०० प्रतिशत महसुलले भारतसहितका देशको उद्योगमा प्रत्यक्ष प्रभाव पार्ने सम्भावना छ ।
भारतका औषधि उत्पादकका निम्ति अमेरिका सबैभन्दा ठूलो बजार बन्दै आएको छ । अमेरिकाले भारतीय उत्पादनमाथि यसअघि नै ५० प्रतिशत भन्सार शुल्क लगाइसकेको छ।
सन् २०२४ मा भारतले ३१ हजार ६२६ करोड भारुबराबरका औषधि अमेरिका निर्यात गरेको थियो । सन् २०२५ को पहिलो ६ महिनामै यो आँकडा ३२ हजार ५०५ करोड भारु पुगेको छ ।
यस्तो अवस्थामा १०० प्रतिशत महसुल लगाइँदा अमेरिकामा भारतका सस्ता औषधि समेत महँगो मूल्यमा बिक्री गरिनेछ ।
ट्रम्पको महसुल नीतिको असर विशेष गरी ब्रान्डेड वा पेटेन्ट गरिएका औषधिमा बढी पर्ने देखिएको छ । जेनेरिक औषधिका विषयमा भने अझै अन्योल कायम छ ।
ट्रम्पको यो कदमलाई औषधि उद्योगहरू अमेरिकामै सञ्चालन गर्न दबाब दिने रणनीतिका रूपमा हेरिकएको सीएनएनले जनाएको छ ।




प्रतिक्रिया