काठमाडौं– संसदको हिउँदे अधिवेशनको पहिलो दिन संंसद बैठकमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थिरताका कारण अन्तर्राष्ट्रिय समुदायमा नेपाललाई उपलब्धी मिलिरहेको बताएका थिए ।
भारत र चीनसँग भएका सम्झौता र त्यसको कार्यान्वयनको अवस्थालाई अध्यक्ष प्रचण्डले संसदमा व्याख्या गरेपनि स्थिरताको सकारात्मक असर अमेरिकादेखि जापानसम्म देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सरकार बनेपछि सरकारले कुटनीतिमा छलाङ नै मारेको छ ।
स्थिर सरकार सँगसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको सक्रियताले पनि विदेशी मुलुकसँग सम्बन्ध विस्तारमा टेवा पु¥याएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले जापान भ्रमण गरेपछि जापानका विदेशमन्त्री तारो कोनो पुस २५ गते काठमाडौं आउँदैछन् ।
जापानी विदेशमन्त्री काठमाडौं आउने भएपछि परराष्ट्रमन्त्री ज्ञवालीको जापान भ्रमण सफल भएको मानिएको छ । ज्ञवालीको भ्रमणलगत्तै जापान सरकारले नेपाली कामदारलाई रोजगारी दिने निर्णय पनि गरेको छ ।
हालसम्म जापानमा अधिकांश नेपाली अध्ययन भिषामा जाने गरेका छन् । नेपालीलाई जापानमा रोजगारी दिने प्रक्रिया सरकारीस्तरबाटै हुने र त्यसको प्रक्रिया अगाडि बढ्ने जनाइएको छ ।
‘मन्त्री ज्यू जापान भ्रमणमा गएपछि सम्बन्ध सुधार भएको छ । जापानी विदेशमन्त्री नेपाल भ्रमणमा आउँदैछन्,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘जापानी विदेशमन्त्रीको भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध, सिधा हवाइ उडान, विकास साझेदारी र नेपाली कामदार लैजाने विषयमा छलफल हुनेछ ।’
जापानी विदेशमन्त्रीले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जापान भ्रमणको निम्तो दिने समेत जनाइएको छ । जापानी समकक्षीको निम्तो मान्न प्रधानमन्त्री ओली जापान जाने तयारी समेत भइरहेको छ । प्रधानमन्त्री ओलीको जापान भ्रमणपछि सम्बन्ध झनै निकट हुनेछ ।
सूचना प्रविधि र आर्थिक विकासको क्षेत्रमा छोटो समयमै फड्को मारेको जापानबाट नेपालले नयाँ–नयाँ प्रविधि भित्र्याउन सकिने परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । सरकार बनेको पहिलो वर्ष सम्बन्ध विस्तार र सम्भाव्यता अध्ययनको काम भइरहेकाले अर्काे वर्षदेखि अन्तर्राष्ट्रिय समुदायबाट लाभ प्राप्त भएको देखिने ती अधिकारीले बताए ।
केही दिनअघि परराष्ट्रमन्त्री ज्ञवाली अमेरिका भ्रमणबाट आएका छन् । अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोको निमन्त्रणामा परराष्ट्रमन्त्री ज्ञवालीले अमेरिका भ्रमण गरेका छन् । अमेरिका भ्रमणबाट नेपालले सम्बन्ध विस्तार र निकट बनाएको जनाइएको छ ।
नेपालमा भइरहने राजनीतिक परिवर्तन र अस्थिरताका कारण विदेशी मुलुकले दीर्घकालीन र द्विपक्षीय हीत र सम्बन्धबारे समझदारी गर्ने राजनीतिक नेतृत्व पाउने गरेका थिएनन् । जसले गर्दा पछिल्लो समय अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको सम्बन्ध अवरुद्ध हुँदै गइरहेको थियो ।
सरकार बनेको ९–१० महिनामै अर्को सरकार आउने, एउटा सम्झौताको मसी सुक्न नपाउँदै अर्को राजनीतिक नेतृत्वसँग अर्को सम्झौता गर्नुपर्ने र सम्झौताहरू दीर्घकालीन रुपमा कार्यान्वयन हुन नसक्ने समस्या अन्तर्राष्ट्रिय समुदायले भोग्दै आएको थियो ।
तर,पछिल्लो प्रतिनिधिसभाबाट कम्युनिस्ट पार्टीको उदय र संसदबाट दुईतिहाई बहुमत प्राप्त सरकारले राजनीतिक स्थिरतासहित सरकार सञ्चालन गरिरहेकाले अन्तर्राष्ट्रिय समुदाय समेत नेपालप्रति आकर्षित हुन थालेको छ ।
स्थिरताकै प्रभावले चिनियाँ राष्ट्रपति सि जिनफिङको उच्चस्तरीय नेपाल भ्रमण आगामी मार्चमा हुने भएको छ । भ्रमणका लागि दुवै देशले आन्तरिक तयारी गरिरहेका छन् । कुनै आकस्मिक व्यवधान उत्पन्न नभए राष्ट्रपति सि मार्चमा नेपाल आउने लगभग निश्चित रहेको परराष्ट्र मन्त्रालयका अधिकारीले बताएका छन् ।
चिनियाँ राष्ट्रपतिमा सि पहिलो पटक निर्वाचित हुँदादेखि नै नेपाल भ्रमणमा आउने चर्चा चलिरहेको हो । तर सिले चीनमा दोस्रो कार्यकाल सम्हाल्दासम्म नेपाल भ्रमण हुन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले भने दुवै कार्यकालमा चीन भ्रमण गरिसकेका छन् । प्रधानमन्त्री ओलीको चीन भ्रमण गरेपछि २०७३ सालमा पनि सि भ्रमणको चर्चा चलेको थियो । तर अन्तिममा भ्रमण स्थगित भयो ।
चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण नभएको दुई दशक बढी भइसकेको छ । प्रधानमन्त्री स्तरमा पछिल्लो पटक २०६६ सालमा चिनियाँ भ्रमण भएको थियो । तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले पाँच घण्टाका लागि नेपाल भ्रमण गरेका थिए । प्रधानमन्त्री ओली नेतृत्वमा स्थिर सरकार बनेपछि राष्ट्रपति सि नेपाल भ्रमणमा आउँदैछन् । यसबीच चीनसँग थुप्रै पूर्वाधार विकास सम्झौता भएका छन् ।




प्रतिक्रिया