काठमाण्डु – देशका विभिन्न स्थानहरूमा असोज १७ गतेदेखि परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिबाट ठूलो जनधन तथा भौतिक पूर्वाधारमा क्षति भएको भन्दै नेपाल ट्रेड युनियन कांग्रेसले गहिरो दु:ख व्यक्त गरेको छ ।
ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईद्वारा जारी विज्ञप्तिमा मानवीय क्षतिसँगै देशका पूर्वाधारहरूमा ठूलो क्षति भएको जनाइएको छ ।
धेरैले ज्यान गुमाएका छन् भने कैयौ नागरिक बेपत्ता र बासविहीन भई विस्थापित भएका छन्, घाइतेहरूको संख्या पनि उल्लेख्य छ ।
वर्षाले देशका प्रमुख सडक मार्गहरू अवरुद्ध भएका र आन्तरिक हवाई सेवा समेत असोज १८ गतेदेखि पूर्ण रूपमा बन्द हुनुपरेको विज्ञप्तिमा उल्लेख छ । केही अन्तर्राष्ट्रिय उडानहरू पनि रद्द भएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेसले यस्तो विपत्तिबाट विशेष गरी गरिखाने श्रमिक वर्ग बढी प्रभावित भएको भन्दै उनीहरूको रोजगारीमा तत्काल र दीर्घकालीन असर पर्न सक्ने चेतावनी दिएको छ । त्यसैले श्रमिक वर्गप्रति विशेष ध्यान दिन र रोजगारी संरक्षणमा आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरिएको छ ।
महासंघले विपद् व्यवस्थापनमा नेपाल सरकारले देखाएको तत्परताको प्रशंसा गर्दै अझै पनि निरन्तर वर्षाको सम्भावना रहेको सरकारी सूचना हवाला दिँदै जीवन रक्षा, उद्धार तथा राहत कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन तीनै तहका सरकारहरूको ध्यानाकर्षण गराएको छ ।
विपद् प्रभावितहरूको उद्धार, खोजी कार्य, राहत वितरण, अस्थायी बासको व्यवस्था तथा घाइतेहरूको प्रभावकारी निशुल्क उपचार सुनिश्चित गर्न महासंघले सरकारसँग जोडदार माग पनि गरेको छ ।
महासंघले आफ्ना मातहतका सम्पूर्ण संरचनाहरूलाई सरकारी तथा सम्बन्धित निकायहरूसँग समन्वय गर्दै जोखिममा परेका नागरिकहरूको उद्धार, राहत तथा संरक्षणका लागि अग्रपंक्तिमा खटिन समेत आह्वान गरेको छ ।
महासंघले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेको र शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।




प्रतिक्रिया