मनाङको प्रदेशसभा उपनिर्वाचन स्थगित

मनाङको प्रदेशसभा उपनिर्वाचन स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले मनाङ जिल्लाको प्रदेशसभा १(२) मा निर्धारित उपनिर्वाचन स्थगित गरेको छ ।

कात्तिक १७ गते हुनेका लागि तोकिएको उपनिर्वाचनका पूर्वनिर्धारित कार्यक्रमहरू भदौ २३ गतेदेखि भएको आन्दोलन र स्थानीय प्रशासनद्वारा जारी गरिएको कर्फ्यु आदेशका कारण तोकिएको मितिमै कार्यान्वयन हुन नसकेका कारण उपनिर्वाचन स्थगित गर्नुपरेको आयोगले जनाएको छ ।

पूर्वप्रकाशित निर्वाचन कार्यक्रम बमोजिमका सम्पूर्ण कार्यहरू आयोगको आईतबारको निर्णयानुसार हाललाई रोकिएको र अर्को निर्वाचन कार्यक्रम पछि प्रकाशन गरिने आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यसैबिच आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका विषयमा नेपाल सरकारका मन्त्रीहरूसँग महत्त्वपूर्ण छलफल गरेको जानकारी दिएको छ । छलफलमा नेपाल सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, गृहमन्त्री ओम प्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा र निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारी, माननीय निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर, माननीय निर्वाचन आयुक्त सगुन शम्शेर जबरा लगायतका पदाधिकारीहरू सहभागी थिए ।

बैठकमा कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीको बारेमा हालसम्म भएका प्रगतिबारे जानकारी गराएका थिए । त्यसलगत्तै नेपाल सरकारका मन्त्रीहरूले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र मितव्ययी रूपमा सम्पन्न गर्नका लागि सरकारका तर्फबाट आवश्यक पर्ने स्रोत साधन, शान्ति सुरक्षाको भरपर्दो व्यवस्था सहितको पूर्ण सहयोग उपलब्ध हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

छलफलमा प्रतिनिधिसभा निर्वाचनको कार्यक्रम/कार्यतालिका, राष्ट्रियसभा सदस्य निर्वाचन र मनाङको उपनिर्वाचन समेतका विषयमा केन्द्रित रहेर विचार विमर्श भएको थियो । आयोगले आसन्न निर्वाचनलाई सफल बनाउन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, मतदाता तथा सम्पूर्ण सरोकारवालाहरूमा हार्दिक अनुरोध समेत गरेको छ ।