काठमाण्डु – जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यबाहक दिएर पार्टी सत्ता छाड्ने तयारी गरिरहेका बेला पार्टीभित्रै नयाँ समीकरण बन्न थालेका छन् ।
जेनजी आन्दोलनअघिसम्म सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा निकट रही संस्थापन पक्षमा रहेका महामन्त्री गगनकुमार थापा पछिल्लो समय नेता डा. शेखर कोइरालासँग नजिकिन थालेका छन् । स्रोतका अनुसार गगनले दिनदिनै शेखरको दैलो धाउँदै सभापति देउवाविरुद्ध कुरा लगाउन थालेका छन् ।
परिस्थिति नबदलिएको भए संस्थापन पक्षबाट सभापति उम्मेदवार बन्ने दौडमा रहेका गगन बदलिँदो परिस्थितिमा शेखरसँग नजिकिन पुगेका हुन् । गत महाधिवेशनमा गगन संस्थापनइतर कोइराला पक्षबाट उम्मेदवार बनेर विजयी भएका थिए । तर महामन्त्री बनेपछि उनले शेखरसँग सम्बन्ध टुटाएका थिए ।
कांग्रेस स्रोतका अनुसार महामन्त्री गगनले देउवा–आरजुसँग नजिकिएर संस्थापन पक्षबाटै सभापति उम्मेदवार बन्न चाहेका थिए । तर अहिले देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक बनाउन खोजेको भन्दै त्यसविरुद्ध प्रतिवाद गर्न आग्रह गर्दै गगनले शेखरलाई दिनदिनै भेट्न थालेका छन् ।
महामन्त्री गगनले शेखरलाई भेटेर भन्ने गरेका छन् – सभापतिज्यूले उपसभापतिलाई कार्यबाहक दिँदैछन्, तपाईं कस्सिनुपर्यो नि ! अहिले शेखरसँग नजिकिन खोजेका गगन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई निर्देशन गर्ने सत्तारुढ दलको संयन्त्रमा बसेका थिए । उनी सभापति देउवा र तत्कालीन मन्त्री आरजु निकट रहेका थिए । अर्काेतिर महामन्त्री गगन जेनजी आन्दोलनका अगुवा तनुजा पाण्डे लगायतसँग नियमित सम्पर्कमा रहेको आरोप पनि लाग्ने गरेको स्रोतले जनाएको छ । त्यसैले गगनले अहिले नजिकिन खोजेपनि शेखरले विश्वास गर्ने सम्भावना नरहेको बताइन्छ । किनकि शेखर पक्षबाटै महामन्त्री निर्वाचित भएका गगन उनलाई छाडेर देउवातिर नजिकिएका थिए ।
कार्यबाहक सभापति शेखर कि पूर्णबहादुर ?
जेनजी आन्दोलनको निशानामा परेका सभापति देउवाले अब पार्टी सत्ता तत्कालै छाड्ने निधो गरेका छन् । उनले पार्टी एकता हुने गरी मिलेर कार्यबाहक लिन नेताहरूलाई सन्देश पठाइसकेका छन् । सभापति देउवाले पार्टीभित्रका सबै पक्ष मिलेर कार्यबाहकको नाममा सहमति जुटाउन सन्देश पठाएका छन् । तर संस्थापन पक्षबाट उपसभापति पूर्णबहादुर खड्का र संस्थापनइतर पक्षबाट डा. शेखर कोइराला कार्यबाहक सभापति बन्ने दौडमा छन् । शेखरले बनाए कार्यबाहक सभापति, नबनाए महाधिवेशनबाटै सभापति बन्ने तयारी थालेका छन् । उनी आगामी पुसमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने लविङमा छन् ।
सभापति देउवाले पार्टीलाई एकताबद्ध बनाउन नेता शेखरसँग संवाद बढाएका छन् । पार्टीमा सबैलाई मिलाएर लैजान र एकताको सन्देश दिन देउवाले शेखरलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिनसक्ने सम्भावना पनि उत्तिकै रहेको बताइन्छ । शेखरले भने कार्यबाहकमा धेरै जोडबल नगरी पुसमा महाधिवेशन नै गर्नुपर्नेमा जोड दिएका छन् । पार्टीमा सभापतिपछि उपसभापतिलाई कार्यबाहक दिनुपर्ने भएकाले पूर्णबहादुरले कार्यबाहक पाउने सम्भावना पनि उत्तिकै छ । तर पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइरालाले उपसभापतिलाई नदिएर स्व. सुशील कोइरालालाई कार्यबाहक सभापतिको जिम्मेवारी तोकेको नजिर पनि कांग्रेसमा छ ।
सभापति देउवाले कार्यबाहक दिने पक्कापक्की भइसकेको अवस्थामा महामन्त्री गगनले भने पूर्णबहादुर र शेखरलाई आपसमा लडाएर आफू कार्यबाहक सभापति बन्ने खेल खेलिरहेका स्रोतले जनाएको छ । तर शेखरले कार्यबाहकमा धेरै झगडा नगरी पूर्णबहादुरसँग सम्बन्ध सुधार गरेर महाधिवेशनबाटै सभापति बन्ने तयारी गरिरहेका बताइन्छ ।




प्रतिक्रिया