विशेष महाधिवेशनको नाममा चलाइएको हस्ताक्षर अभियानले कांग्रेस विभाजन हुन सक्छ : नेता सिटौला

विशेष महाधिवेशनको नाममा चलाइएको हस्ताक्षर अभियानले कांग्रेस विभाजन हुन सक्छ : नेता सिटौला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले पार्टीका महामन्त्रीहरूद्वारा चलाइएको हस्ताक्षर अभियानले पार्टीलाई विभाजित गर्न सक्ने चेतावनी दिएका छन् ।

सिटौलाले विशेष महाधिवेशन बोलाउन महामन्त्रीद्वयको हस्ताक्षर अभियानले पार्टीलाई फुट्ने स्थितिसम्म पुर्‍याउने बताए ।

पार्टी उपसभापति पूर्णबहादुर खड्कासहितको भेटघाटमा पूर्वमहामन्त्रीसमेत रहेका सिटौलाले जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालयमा आगो लागेको र त्यस लगतै विशेष महाधिवेशनका नाममा हस्ताक्षर अभियानले पार्टी र संगठनमा पनि आगो सल्कने बताए । संगठनमा आगो लगाउने काममा सक्रिय नबन्न सबैमा उनले आग्रह गरे ।

महामन्त्रीद्वय थापा र शर्माले कांग्रेसमा नेतृत्व हस्तान्तरणको विषयलाई लिएर विशेष महाधिवेशन बोलाउन मागसहित देशव्पापी हस्ताक्षार अभियान चलाइरहेका छन् । ५० प्रतिशत बढी कार्यकर्ताले हस्ताक्षर गरेको उनीहरूको दाबी छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अभियानमा सहभागी हुन बारम्बार फोन गरेको जानकारी गराउँदै सिटौलाले हस्ताक्षर गर्ने र नगर्नेबीचमा समूह विभाजन हुने उल्लेख गरे ।

यसले आगामी निर्वाचनमा पनि धक्का लाग्नसक्ने संकेत गर्दै राष्ट्रिय सभा सदस्य समेत रहेका सिटौलाले एकजुट भएर निर्वाचनमा जाँदा अन्तर्घात हुने गरेको प्रशंग उठाए ।

हस्ताक्षर अभियानले निर्वाचनमा पनि पार्टीभित्र दुई स्पष्ट धार देखिने उनको दाबी थियो ।

सिटौलाले निर्धारित मितिमा चुनाव हुनेमा आफूहरू विश्वस्त हुन नसकेको पनि बताए । उनले चुनाव हुने भरपर्दो आधार नै नबनेको बताए ।

‘निर्वाचन हुन्छ हुँदैन निश्चित छैन। संसद् विघटन छ। बाहिरबाट सरकार बनेको छ। सुरक्षाको केही ग्यारेन्टी छैन,’ सिटौलाले भने ।