महासचिव पोखरेलको प्रश्न : केपी ओली आफैं बानेश्वर गएर हतियार चलाउनु भएको हो र ?

महासचिव पोखरेलको प्रश्न : केपी ओली आफैं बानेश्वर गएर हतियार चलाउनु भएको हो र ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुशीला कार्की नेतृत्वको सरकारले प्रतिशोधको राजनीति गरेको आरोप लगाएका छन् ।

बिहीबार भक्तपुरमा आयोजित भेटघाट कार्यक्रममा उनले वर्तमान सरकारले नेपालको आफ्नै राजनीतिक परम्पराको विपरीत नीति अबलम्बन गरेको भन्दै त्यो नेपाली परम्परा नभई प्रतिशोधनको परम्परा भएको बताए ।

उनले भने, ‘सुशीला कार्की नेतृत्वको सरकारले नेपालको आफ्नै राजनीतिक परम्पराको विपरीत नीति अबलम्बन गरेको छ । गृहमन्त्रीको निर्देशन नेपाली परम्पराअनुसार छैन । प्रतिशोधको परम्परा हो भन्ने कुरा हामीले बुझ्नुपर्छ ।’

भदौ २३ गतेको घटनामा अध्यक्ष आफैं बानेश्वर गएर हतियार चलाएको जस्तो प्रकारको कूप्रचार गरेर केपी शर्मा ओलीमाथि हमला गर्ने प्रयास गरेको उनले बताए ।

उनले भने, ‘केपी शर्मा ओलीमाथि निरन्तर हमला भइरहेको छ । भदौ २३ गतेको घटनामा अध्यक्ष आफैं बानेश्वर गएर हतियार चलाएको जस्तो प्रकारको प्रचार गर्ने कूप्रयासहरू भइरहेको छ । नेपालको इतिहासको विभिन्न कालखण्डहरूमा राज्य र विद्रोहीहरूको बीचमा लडाइँ भएको समयमा मानवीय क्षति भएको बेला कहिले कुन प्रधानमन्त्री दण्डित भएको छ ? आज हाम्रो समाजमा जुन प्रकारको घृणाको राजनीति भइरहेको छ, त्यो हाम्रो परम्परा हो ?’

गृहमन्त्री राज्य चलाउने हैसियत राख्दैनन् भन्ने कुरा उनको अभिव्यक्तिले देखाइरहेको भन्दै उनी साँच्चिकै नेपाल सरकारको गृहमन्त्री हुन् भने संविधान र कानून अन्तर्गत अगाडि बढ्न सक्नुपर्ने उनले बताए ।

उनले भने, ‘गृहमन्त्री राज्य चलाउने हैसियत राख्दैनन् भन्ने कुरा उनको अभिव्यक्तिले देखाइरहेको छ । उनी साँच्चिकै नेपाल सरकारको गृहमन्त्री हुन् भने संविधान अन्तर्गत, कानून अन्तरगत अगाडि बढ्न सक्नुपर्छ । शान्ति सुरक्षा गृहमन्त्रीको पहिलो प्राथमिकता र कर्तव्य हुनुपर्छ ।’