काठमाण्डु- इजरायलले गाजामा युद्धविराम र बन्धक रिहाइ सम्बन्धी अमेरिकी योजनालाई अनुमोदन गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको हो ।
प्रधानमन्त्री नेतन्याहूले यसलाई एक ऐतिहासिक विकासको संज्ञा दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आभार व्यक्त गरेका छन् ।
यसैबीच, राष्ट्रपति ट्रम्पले इजरायली बन्धकहरू सोमबार वा मंगलबारसम्ममा रिहा हुनसक्ने बताएका छन् । यो सम्झौताको पहिलो चरणमा इजिप्टमा इजरायल र हमासबीच सहमति भएको थियो ।
युद्धविराम र बन्धक रिहाइका अतिरिक्त, सम्झौताको पहिलो चरणमा इजरायलले सयौं प्यालेस्टाइनी कैदीहरूलाई रिहा गर्ने बताइएको छ ।
इजरायल र हमासबिच बिहीबार इजिप्टमा भएको युद्धविराम सम्झौताअनुसार हमासले उनीहरूलाई छाड्ने भएको हो । तर, उक्त २० जनाको सूचीमा नेपाली नागरिक विपिन जोशीको नाम भने छैन ।
हमासले २३ असोज ०८० मा इजरायलको निर ओज र आलुमिम किबुजमा गरेको अन्धाधुन्ध हवाई आक्रमणमा नेपाली १० सहित विभिन्न देशका नागरिक र १२ सयभन्दा बढी इजरायली नागरिकको मृत्यु भएको थियो । हमास समूहले इजरायलबाट गाजापट्टीमा २५१ जनालाई लिएर गएको थियो । यिनैमध्येका जीवित र मृतक गरी ५० जना हमासको कब्जामा रहेका हुन् ।
इजरायली मन्त्रिपरिषद्ले औपचारिक रूपमा सम्झौतालाई अनुमोदन गरेपछि युद्धविराम लागु हुने अपेक्षा गरिएको छ ।
इजरायली सेना गाजा पट्टीको करिब ५३ प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा रहने गरी एक निश्चित रेखामा फिर्ता हुनेछ । गत हप्ता ह्वाइट हाउसले वितरण गरेको नक्साअनुसार यो इजरायली सेना फिर्ता हुने तीन चरणमध्ये पहिलो हो ।
त्यसपछि, ७२ घण्टाको समय सुरु हुनेछ, जसमा हमासले जीवित रहेका विश्वास गरिएका सबै २० बन्धकहरूलाई रिहा गर्नुपर्नेछ । त्यसपछि, मृत्यु भइसकेका २८ बन्धकहरूको शव फिर्ता गरिनेछ । यद्यपि, यसमा कति समय लाग्नसक्छ भन्ने स्पष्ट छैन ।
हाल जीवित र मृतक गरी ५० जना हमासको कब्जामा छन् । जसमा विपिन पनि छन् ।
सोमबारभित्र छाड्ने भनिएका २० जीवितमा सबै इजरायली नागरिक छन् । दुईजनाको अवस्था अज्ञात छ । यिनै दुईमध्येमा विपिन पनि रहेको विश्वास गरिएको छ । अन्य २८ जनाको शव हमासको कब्जामा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
युद्धविराम सम्झौताअनुसार हमासको कब्जामा रहेका २० इजरायली युद्धबन्दीहरू सोमबारसम्म मुक्त हुँदा इजरायलले पनि जेलमा रहेका हमाससम्बद्ध व्यक्तिलाई छाड्नेछ । हमासले जीवित युद्धबन्दीलाई छाडेपछि दोस्रो चरणमा आफ्नो कब्जामा रहेका मृतकहरूको शव हस्तान्तरण गर्नेछ ।
यसबीच परराष्ट्र मन्त्रालयले बिहीबार साँझ जारी गरेको विज्ञप्तिमा २३ असोज ०८० देखि हमासद्वारा बन्दी बनाइएका नेपाली नागरिक विपिन जोशीसहित सबै बन्दीहरूको रिहाइको माग गरिएको छ ।
‘हामी हमासद्वारा ७ अक्टोबर २०२३ ९२३ असोज ०८०० देखि बन्दी बनाइएका नेपाली नागरिक विपिन जोशीसहित सबै बन्दीहरूको तत्काल रिहाइको माग गर्दछौँ,’ परराष्ट्रले भनेको छ ।




प्रतिक्रिया