काठमाण्डु – गत भदौ २३ र २४ गते उत्पन्न विषम परिस्थिति सामान्यीकरण गर्ने क्रममा नेपाली सेनाले खेलेको भूमिकाबारे समाजका विभिन्न तहबाट आएका सुझावप्रति नेपाली सेनाले आभार प्रकट गरेको छ ।
शुक्रबार जारी विज्ञप्तिमा सेनाले आन्तरिक सुरक्षामा पर्न सक्ने सम्भावित प्रभावलाई ध्यानमा राखी शान्ति र स्थायित्व कायम गर्न आवश्यक पहल गरिएको स्पष्ट पारेको छ ।
सेनाले जनताको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिँदै तत्कालीन परिस्थितिमा उचित र जिम्मेवार कदम उठाइएको जनाएको छ ।
विज्ञप्तिमा हालको संवेदनशील अवस्थामा सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत संस्था र नेतृत्वमाथि विभिन्न टिप्पणी र धारणा प्रवाह भइरहेकोमा ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । सेनाले आफ्नो आधिकारिक जानकारीहरू नियमित रूपमा प्रेस विज्ञप्ति, नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको पुन: स्मरण गराएको छ ।
सेनाले गलत सूचना र भ्रम फैलिन नदिन आमनागरिक र सञ्चारकर्मीलाई यथार्थपरक जानकारीका लागि नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गर्न आग्रह गरेको छ ।





प्रतिक्रिया