काठमाण्डु – गैरआवासीय नेपाली अभियान शनिबारबाट २२ वर्ष पूरा गरी २३ औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले अलग अलग कार्यक्रमको आयोजना गर्दैछन् ।
हाल संस्थागत रूपमै दुई समूहमा विभाजित एनआरएनएले अलग अलग कार्यक्रममको आयोजना गरेको छ । एनआरएनए डेका अवसरमा डा.बद्री केसी र महेश श्रेष्ठ समूहले फरक फरक कार्यक्रममको आयोजना गरेका छन् ।
‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियान शनिबार २२ वर्ष पूरा गरेको छ । विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरूलाई एकताबद्ध गर्दै उनीहरूले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएको थियो ।
केसी समूहले शनिबार एक विज्ञप्ति जारी गर्दै स्थापनाको २२ वर्षको अवधिमा ९० देशमा औपचारिक सञ्जालको विस्तार गरेर विभिन्न मुलुकमा छरिएर रहेका नेपाली समुदायलाई एउटै मालामा जोड्न संघ सफल भएको जनाएको छ । स्थापना कालदेखिका माग तथा मुद्दाहरू क्रमशः सम्बोधन हुने क्रम जारी रहेको पनि संघले जनाएको छ ।
सबैभन्दा ठूलो उपलब्धी अर्थात विदेशमा बस्ने नेपालीका लागि सरकारले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने कानूनी बाटो खोलेको र पूर्ण कार्यान्वयनका लागि प्रयासरत रहेको उल्लेख गर्दै केसी समूहले नेपालीको मताधिकारको अधिकार सुनिश्चित गर्न सरकार सकारात्मक रहेको उल्लेख गरेको छ ।




प्रतिक्रिया