सोनियालाई थिएन राजनीतिमा आउने चाहना, तर कसरी बनिन् कांग्रेसको निर्विवाद शक्ति केन्द्र ?

सोनियालाई थिएन राजनीतिमा आउने चाहना, तर कसरी बनिन् कांग्रेसको निर्विवाद शक्ति केन्द्र ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सन् २००३ को जुलाईमा सोनिया गान्धी हिमाचल प्रदेशको सिमलामा आयोजित कांग्रेसको एक चिन्तन बैठकको अध्यक्षता गरिरहेकी थिइन्। उक्त बैठक अर्को वर्ष हुने लोकसभा निर्वाचनको तयारीका लागि बोलाइएको थियो।

बैठकको वातावरण उत्साहपूर्ण थियो । आगामी चुनावबारे त्यहाँ खुला रूपमा छलफल भइरहेको थियो। अटल बिहारी वाजपेयी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) सरकारलाई सत्ताबाट हटाउन क्षेत्रीय दलहरूसँग गठबन्धन गर्नु आवश्यक पर्ने निष्कर्षमा कांग्रेस नेतृत्व पुग्न थालेको थियो।

यही क्रममा सोनियाले पार्टीका केही वरिष्ठ नेताहरूले निर्वाचनमा कांग्रेसको नेतृत्व कसले गर्नुपर्छ भन्ने विषयमा छलफल गरिरहेको थाहा पाइन्। यो कुरा सुनेर उनी आश्चर्यचकित भइन्।

उनी पाँच वर्षदेखि कांग्रेस अध्यक्ष पदमा थिइन्। अध्यक्षका रुपमा देशभर यात्रा र निर्वाचन प्रचार गरेकी थिइन् । उनले त्यस समय विपक्षी दलको नेतृत्व पनि गरेकी थिइन् । पार्टीभित्रको दल बदल तथा निरन्तर खस्कँदो चुनावी प्रदर्शनसँग जुध्दै कांग्रेसलाई पुनः सुदृढ बनाउने प्रयासमा थिइन्।

यति हुँदाहुँदै पनि कांग्रेसभित्रै केही नेताहरूलाई संसदीय निर्वाचनमा पार्टीको नेतृत्व गर्न उनी उपयुक्त व्यक्ति हुन् कि होइनन् भन्ने शंका कायमै थियो।

एचसीआईले नोभेम्बर १० मा सार्वजनिक गरेको आफ्नो पुस्तक ‘बिलङ्गिङ : अ जर्नी अफ लभ’ मा सोनियाले यस घटनाले आफूलाई चोट पुर्‍याएको उल्लेख गरेकी छन्।

राजनीतिक विरोधीहरूले उनको भारतीय पहिचानमाथि प्रश्न उठाउँदै आएका थिए अब त उनलाई त्यसको बानी परिसकेको थियो। तर आफ्नै सहकर्मीहरूको मनमा पनि त्यस्तो शंका हुनु बिल्कुलै फरक कुरा थियो।

यो घटना उनको संस्मरणको सबैभन्दा महत्त्वपूर्ण प्रसंगमध्ये एक हो। यसले राजनीतिमा अनिच्छापूर्वक प्रवेश गरेर सत्ताप्रति खासै रुचि नराख्ने महिलाका रूपमा स्थापित सोनिया गान्धीको परिचित छविलाई चुनौती दिन्छ।

राजनीतिमा प्रवेश गर्ने विषयमा उनको हिचकिचाहट वास्तविक थियो। तर एकपटक जिम्मेवारी स्वीकार गरिसकेपछि आफ्नो पदसँग प्राप्त अधिकार प्रयोग गर्ने उनको चाहना पनि उत्तिकै बलियो थियो।

राजनीतिमा आउन नचाहने महिला जिम्मेवारी स्वीकार गरिसकेपछि आफूलाई किनारामा पारिएको हेर्न तयार थिइनन्।

यही विरोधाभास ‘बिलङ्गिङ’ पुस्तकभरि देखिन्छ। यस पुस्तकको सबैभन्दा ठूलो उपलब्धि भनेको आफ्नो निजी जीवनबारे अत्यन्त सतर्क रहने एउटी महिला कसरी बलियो राजनीतिक रणनीतिकार बनिन् भन्ने कुरा उजागर गर्नु हो।

तर यस पुस्तकको सीमा पनि छ। सोनियाले आफ्ना भावनाबारे खुलेर लेखेकी छन्, तर आफ्ना राजनीतिक निर्णयका परिणामबारे भने प्रायः त्यति विस्तारमा चर्चा गरेकी छैनन्।

राजनीतिज्ञका रूपमा उदय

सोनियाको राजनीतिक यात्रालाई लामो समयसम्म राजनीतिक जिम्मेवारीबाट पन्छिन खोजेको कथाका रूपमा प्रस्तुत गरिँदै आएको छ।

सन् १९८० मा सञ्जय गान्धीको निधनपछि उनले राजीव गान्धी राजनीतिमा प्रवेश गर्ने निर्णयको विरोध गरेकी थिइन्। सन् १९९१ मा राजीवको हत्या भएपछि पनि राजनीतिक भूमिका निर्वाह गर्न उनलाई पटक-पटक गरिएका प्रस्ताव उनले अस्वीकार गरिन्।

तर कुनै पद सम्हाल्ने इच्छा नहुनुको अर्थ राजनीतिप्रति उनको रुचि नै थिएन भन्ने होइन।

कांग्रेसमा औपचारिक रूपमा प्रवेश गर्नुभन्दा धेरै अघिदेखि नै सोनियाभित्रको राजनीतिज्ञ आकार लिन थालिसकेको थियो।

इन्दिरा गान्धीसँग रहँदा, राजीवसँग यात्रामा जाँदा तथा आपत्काल, बोफोर्स र अयोध्यासँग सम्बन्धित विवादहरू नजिकबाट नियाल्दा उनले भारतीय राजनीतिका भाषा, त्यसको सहज बुझाइ र अन्तर्विरोधहरू आत्मसात् गरिरहेकी थिइन्।

यो प्रक्रिया बिस्तारै र लगभग कसैले थाहा नपाउने गरी अघि बढिरहेको थियो। तर अहिले पछाडि फर्केर हेर्दा त्यसलाई स्पष्ट रूपमा पहिचान गर्न सकिन्छ।

सन् १९९७ मा सोनियामाथि कांग्रेसको नेतृत्व सम्हाल्न दबाब बढ्दै जाँदा उनले भगवद्गीताको सहारा लिएकी थिइन्। संस्कृतका विद्वान् वाचस्पति उपाध्यायले उनलाई गीताको दार्शनिक अर्थ बुझ्न सहयोग गरेका थिए।

कर्मको फलको चिन्ता नगरी आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने गीताको विचारले उनलाई निजी आशंका र राजनीतिक जिम्मेवारीबीच सन्तुलन कायम गर्ने बाटो देखाएको थियो।

तर त्यसपछि भएका घटनाक्रमलाई केवल कर्तव्यको भावनाले मात्र व्याख्या गर्न सकिँदैन।

उनले मानिसका कुरा सुन्न, विभिन्न दाबीको मूल्याङ्कन, विश्वासिला सहकर्मी पहिचान गर्न र आवश्यक पर्दा आफ्नो अडानमा दृढ रहन सिकेकी थिइन्। सिमलाको घटनाले त्यतिबेलासम्म उनी राजनीतिमा आफ्नो स्थान बलियो बनाइसकेको देखाउँछ।

मार्च १९९८ मा सीताराम केसरीको स्थानमा सोनिया गान्धी कांग्रेस अध्यक्ष बनेको घटनाक्रम यसको अर्को महत्त्वपूर्ण उदाहरण हो। यद्यपि उनको संस्मरणमा यसबारे निकै संक्षिप्त चर्चा गरिएको छ।

सोनियाका अनुसार कांग्रेस कार्यसमितिले नेतृत्व परिवर्तन आवश्यक ठानेको थियो। केसरीलाई पद छाड्न भनियो र त्यसपछि उनी केसरीको घर गइन्। त्यहाँ उनले केसरीको खुट्टा छोएर आशीर्वाद लिइन्।

यो भावनात्मक व्यवहार थियो। तर केसरीलाई हटाइएको परिस्थितिबारे यसले खासै जवाफ दिँदैन। उक्त घटनालाई पार्टीभित्र सम्मानजनक प्रक्रियाबिना गरिएको सत्ता परिवर्तनका रूपमा व्यापक रूपमा हेरिएको थियो।

पार्टीका निर्वाचित अध्यक्षलाई कांग्रेस कार्यसमितिको विवादास्पद हस्तक्षेपमार्फत हटाइएको थियो। यस सम्पूर्ण राजनीतिक चलखेलबारे सोनियालाई कति जानकारी थियो ? के उनले यस्तो प्रक्रियालाई स्वीकृति दिएकी थिइन् ? संस्मरणले यी प्रश्नको सन्तोषजनक जवाफ दिँदैन।

लोकतान्त्रिक मूल्यप्रति गर्व गर्ने पार्टीका लागि यस घटनाबारे अझ खुला रूपमा चर्चा गरिनुपर्थ्यो। केसरीप्रतिको व्यक्तिगत सम्मानले उनलाई पदबाट हटाउने पछाडिको राजनीतिक प्रक्रियाको व्याख्या गर्न सक्दैन।

सिमलाको घटनाले सोनियालाई सम्भवतः यसअघि भएको त्यस्तै एउटा विद्रोहको सम्झना गराएको हुनुपर्छ, जसले उनलाई अझ गहिरो चोट पुर्‍याएको थियो।

१५ मे १९९९ मा दिल्लीमा कांग्रेस कार्यसमितिको बैठक बसेको थियो। बैठकमा पीए सङ्माले सोनियाको विदेशी मूलका कारण आमनिर्वाचनमा पार्टीलाई नोक्सान पुग्न सक्ने हो कि होइन भन्ने प्रश्न उठाएका थिए।

शरद पवारले पार्टीलाई एकताबद्ध बनाउन सोनियाको योगदानको प्रशंसा गरेका थिए। तर उनले कांग्रेसले सोनियाको इटालीमा जन्म भएको विषयलाई लिएर भाजपाले चलाएको अभियानको सामना गर्न नसकेको पनि बताएका थिए। तारिक अनवर पनि यस असहमतिमा सहभागी भएका थिए।

आरके धवनले आक्रोश व्यक्त गर्दै असहमति जनाउने नेताहरूमाथि भाजपा र राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) को एजेन्डा अघि बढाएको आरोप लगाएका थिए। त्यसबेला सोनिया उठेर बैठकबाट बाहिरिइन्।

त्यसपछि उनले राजीनामा दिने प्रस्ताव गरिन्। उनले आफू विदेशमा जन्मिए पनि भारतलाई आफ्नो घरका रूपमा रोजेको लेखेकी छन्।

यो विद्रोह असफल भयो। पछि पवार, सङ्मा र अनवरले राष्ट्रवादी कांग्रेस पार्टी गठन गरे। चार वर्षपछि सिमलामा त्यही असुरक्षाको भावना फेरि सतहमा आएको थियो।

सोनिया लेख्छिन्, ‘सम्भवतः उनका सहकर्मीहरूले निर्वाचनमा आफूलाई पार्टीका लागि नोक्सानदायक ठानेका थिए। उनका शब्दले धेरै कुरा प्रस्ट पार्छन्, ‘उनीहरूले अझै पनि मलाई बाहिरकी व्यक्तिका रूपमा हेर्छन् भन्ने सोच्दा मलाई चोट पुग्यो।’

विदेशी मूलको विवाद संस्मरणको सबैभन्दा प्रभावशाली प्रसंगमध्ये एक हो। किनभने यसले राजनीतिक सफलताले समेत पूर्ण रूपमा निको पार्न नसकेको चोटको अनुभूति गराउँछ।

सोनियाको विवरणले असुरक्षाको भावना कसरी दृढ सङ्कल्पमा परिणत हुन सक्छ भन्ने पनि देखाउँछ। उनी आफ्नो जन्म र मूललाई लिएर उठ्ने प्रश्नलाई नेतृत्वमाथिको आफ्नो दाबीमा हाबी हुन दिन चाहन्नथिन्।

सन् २००४ मा प्रधानमन्त्री पद स्वीकार नगर्ने उनको निर्णयले यो विरोधाभासलाई अझ पूर्ण बनाउँछ। राहुल र प्रियङ्काको आशंकाले पनि उनको निर्णयमा प्रभाव पारेको थियो। उनीहरूले यसअघि नै आफ्नी हजुरआमा र बुबालाई हत्यामा गुमाइसकेका थिए।

यति हुँदाहुँदै पनि सोनिया कांग्रेसभित्र शक्तिको निर्विवाद केन्द्र बनिरहिन् र संयुक्त प्रगतिशील गठबन्धन अर्थात् यूपीएको व्यवस्थामा उनको भूमिका अत्यन्त महत्त्वपूर्ण रह्यो।

इन्दिरा र राजीव गान्धीको हत्याको प्रसंग सम्झिँदा यो पुस्तक सबैभन्दा बढी भावुक बनाउँछ। उनका स्मृतिमा त्यस समयका भावनाहरू यति जीवन्त छन्, जुन राजनीतिक आत्मकथाहरूमा विरलै देख्न पाइन्छ।

राजीवको हत्यापछिको आफ्नो अवस्थाबारे सोनियाले लेखेकी छन् । सन् १९८४ अक्टोबरमा इन्दिरा गान्धीको हत्यापछि भएको सिखविरोधी नरसंहारबारे उनको चर्चा भने अझ जटिल छ।

सोनियाले ती हत्याकाण्डको निन्दासहित शासन व्यवस्थाको असफलता स्वीकार गरेकी छन् । केही अधिकारीहरूले जानाजान आँखा चिम्लिएको वा मानिसहरूको भावनालाई भड्काएको हुन सक्ने पनि उनले स्वीकार गरेकी छन्। पीडितहरूले न्याय पाउन निकै लामो समय कुर्नुपरेको कुरा पनि उनले स्वीकार गरेकी छन्।

यद्यपि, उनले राजीवको दृढतापूर्वक बचाउ गरेकी छन्। राजीवले त्यस्ता अत्याचारलाई कहिल्यै अनुमति दिन नसक्ने उनको भनाइ छ। उनले शान्ति कायम राख्न राजीवले गरेको अपिल सम्झिएकी छन् । उनले त्यसबेला सेना परिचालनमा भएको ढिलाइको कारणसमेत प्रस्तुत गरेकी छन्।

मुस्लिम महिलाको अधिकार कमजोर पार्ने निर्णयबारे आफूले राजीवसँग प्रश्न गरेको सोनियाले लेखेकी छन्। तर संविधान र धर्मसँग सम्बन्धित परस्पर विरोधी दाबीबीच सन्तुलन कायम गर्ने प्रयास गरिरहेको राजीवको स्पष्टीकरणलाई उनले धेरै हदसम्म स्वीकार गरेकी छन्।

बाबरी मस्जिद भत्काइएको घटनाको भने उनले स्पष्ट र कुनै सर्तबिना नैतिक निन्दा गरेकी छन्। यस पुस्तकको एउटा महत्त्वपूर्ण उपलब्धि कांग्रेसको राजनीतिक कठिनाइ र भाजपाको उदयबारे प्रस्तुत गरिएको विवरण हो।

आफ्नो संगठनको शक्तिका भरमा मात्रै अब कांग्रेसले भाजपालाई पराजित गर्न नसक्ने कुरा सोनियाले बुझिसकेकी थिइन्। उनले पार्टीलाई गठबन्धनप्रति रहेको हिचकिचाहट त्याग्न तयार पारिन्।

दस वर्षसम्म भारतमा शासन गरेको पार्टी सन् २०१४ को लोकसभा निर्वाचनमा कसरी ४४ सिटमा सीमित भयो ? पार्टीको संगठनात्मक आधार यति तीव्र गतिमा किन कमजोर भयो ?

सोनियाले भाजपाको बलियो चुनावी संयन्त्र, नरेन्द्र मोदीको भाषण कला, सामाजिक सञ्जालमा सञ्चालन गरिएका अभियान र यूपीए–२ सरकारविरुद्ध निरन्तर लगाइएका भ्रष्टाचारका आरोपको चर्चा गरेकी छन्।

उनको स्पष्टीकरणमा कांग्रेसको नेतृत्व, संगठन र राजनीतिक संवादका आफ्नै कमजोरीभन्दा भाजपाको शक्ति र कांग्रेसविरुद्ध सञ्चालित अभियानलाई बढी महत्त्व दिइएको छ।