सेनामा डीजीएमओ र उपत्यका पृतनापतिमाथि किन उठ्दैछ प्रश्न?

सेनामा डीजीएमओ र उपत्यका पृतनापतिमाथि किन उठ्दैछ प्रश्न?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँगै भएको आगजनीका घटना नेपाली सेनाको भूमिकाबारे अहिले भित्रभित्रै व्यापक असन्तुष्टि र बहस चलिरहेको छ ।

आन्दोलनको भोलिपल्ट अर्थात् भदौ २४ गते देशको राजधानीमै भएको विध्वंशात्मक घटना भइरहँदा पर्याप्त सुरक्षा नदिएको आरोपले सेनाको विश्वसनीयतामाथि नै प्रश्न चिह्न खडा भएको छ ।

उच्च स्रोतका अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गते साँझै प्रधानसेनापति अशोकराज सिग्देललाई स्थिति नियन्त्रणमा लिन तयार रहन निर्देशन दिएका थिए । तर सेनापति सिग्देलले प्रधानमन्त्रीको आदेशलाई बेवास्ता गरेको आरोप ओली निकट स्रोतहरूले लगाएका छन् । परिणामस्वरूप जेनजी आन्दोलन नियन्त्रणभन्दा बाहिर गयो, जसमा करीब ८० नागरिकको ज्यान गयो र सयौं घाइते भए ।

त्यसको २४ घण्टा नबित्दै प्रधानमन्त्री ओली आफैं हेलिकोप्टरमार्फत सैनिक ब्यारेकमा आश्रय लिन बाध्य भएको घटनालाई नेपालको मात्रै नभई विश्व राजनीतिमा पनि दुर्लभ उदाहरणका रूपमा हेरिएको छ । यसबीच सुरक्षा निकायहरू प्रहरी, सशस्त्र प्रहरी र सेनाबीचको समन्वय कमजोर रहनुले स्थिति अझ जटिल बनाएको बताइएको छ ।

यद्यपि सेनाले आफ्नो बचाउमा बल प्रयोग भएको खण्डमा ठूलो जनधनको क्षति हुन सक्ने जोखिम र सरकार तथा राष्ट्रपतिले कानूनी प्रक्रिया समयमै पूरा नगरेको कारण देखाउँदै आएको छ । तर सिंहदरबार, राष्ट्रपति भवन र संसद् भवनजस्ता संवेदनशील संरचनाहरूमा समेत सेना तैनाथ नगर्नु गम्भीर लापरवाही वा नियोजित मौनताको आशंका गरिएको छ ।

अन्तरिम प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले बनाएको पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको छानबिन समितिले घटनाको यथार्थ उजागर गर्ने अपेक्षा गरिएको छ । तर घटनाले सुरक्षा निकाय, सेनाभित्रको निर्णय प्रक्रिया र नेतृत्व क्षमताप्रति गम्भीर प्रश्न उठाएको छ ।

प्रधानसेनापति सिग्देलको भूमिकाप्रति ओली स्वयं असन्तुष्ट रहेको बताइन्छ । सेनाले भदौ २५ गतेपछि स्थिति नियन्त्रणमा लिएर राजनीतिक संक्रमण स्थिर बनाउनेतिर भूमिका खेले पनि संवैधानिक संरचनाहरू जोगाउने जिम्मेवारीमा चुक्नुले सेनालाई प्रश्नको घेरामा ल्याएको छ ।

सैनिक मुख्यालयभित्र अहिले उपत्यका पृतनापति उपरथी रविन्द्र खत्री र युद्धकार्य महानिर्देशनालयका महानिर्देशक (डीजीएमओ) अनुपजंग थापाको भूमिका कमजोर भएको गुनासो केही सैनिक अधिकारीहरुले गरेका छन् । नरसिंह दल गणका प्रमुख सेनानी गणेश खड्काको नेतृत्वमा रहेको काठमाण्डु सेक्टरमा मात्र करीब ७०० सैनिक तैनाथ भए पनि निर्णायक क्षणमा निष्क्रिय रहनुले प्रश्नहरूलाई बल पुर्‍याएको छ ।

उपरथी अनुपजंग थापा अमेरिकाको स्टाफ कलेज र वार कलेजका स्नातक तथा भावी प्रधानसेनापति बन्ने एक मात्र सम्भावित उम्मेदवारका रूपमा हेरिएका छन् । स्पेशल फोर्स पृष्ठभूमिका भए पनि रणनीतिक नेतृत्व र समन्वयमा अनुभवको कमी देखिएको भन्दै केही अधिकारीहरू खुलेरै उनीप्रति असन्तुष्ट छन् ।