काठमाण्डु– नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङ विरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता गरेको छ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा बालेन र गुरुङले घुसपैठ गराएर विद्यार्थीहरूलाई विद्यालय पोसाकमै आन्दोलनमा सहभागी हुन उक्साएको भन्दै नेविसंघले जाहेरी दर्ता गराएको हो ।
साथै, उनीहरूकै उक्साहटमा आन्दोलनका क्रममा राष्ट्रिय सम्पदा ध्वस्त पारिएको, सरकारी र निजी सम्पत्तिमा तोडफोड तथा लुटपाट भएको नेविसंघले आरोप लगाएको छ।
नेविसंघका केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट, र विजय शाह ले उक्त जाहेरी काठमाण्डु र ललितपुर प्रहरी परिसरमा दर्ता गराएका हुन्। उनीहरूले २४ घण्टाभित्र जाहेरी दर्ता गरी बालेन र गुरुङलाई पक्राउ गर्न माग गरेका छन्।
प्रहरीले जाहेरी प्राप्त भएको र कानुनी प्रक्रिया अनुसार अघि बढ्ने जनाएको छ।
यसअघि पनि नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल (अनेरास्ववियु) ले पनि बालेन र सुदनविरुद्ध यस्तै प्रकृतिको जाहेरी दर्ता गरेको थियो।







प्रतिक्रिया