प्रधानमन्त्री कार्कीले आज अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिलाई ब्रिफिङ गर्दै

प्रधानमन्त्री कार्कीले आज अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिलाई ब्रिफिङ गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकार गठन भएपछि पहिलोपटक अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिलाई ब्रिफिङ गर्न लागेकी छिन् ।

अन्तरिम सरकार गठनको एक महिनापछि प्रधानमन्त्री कार्कीले नेपालको पछिल्लो अवस्थाका बारेमा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिलाई जानकारी गराउन लागेकी हुन् ।

परराष्ट्रमन्त्रीको नियुक्ति भएलगत्तै कूटनीतिक ब्रिफिङको तयारी भए पनि मन्त्रिपरिषद्मा ढिलाइ भएपछि परराष्ट्रमन्त्रीको हैसियतमा प्रधानमन्त्री कार्की आफैँले नै ब्रिफिङ गर्न लागेकी हुन् । बिहीबार सरकार गठनको एक महिना पूरा भएको छ ।

नेपालमा रहेका युरोपियन युनियन तथा २६ देशका राजदूतहरूलाई परराष्ट्र मन्त्रालयले शुक्रबार सिंहदरबार बोलाएको छ ।
परराष्ट्रका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार नेपालस्थित कूटनीतिक समुदायलाई प्रधानमन्त्रीका तर्फबाट ब्रिफिङ गर्न लागिएको हो ।

त्यस क्रममा प्रधानमन्त्री कार्कीले जेन–जी आन्दोलनपछिको परिस्थिति र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिलाई जानकारी गराउनेछिन् ।

यस्तै, प्रधानमन्त्री कार्कीले सरकारले सुशासनलगायतका विषयमा गर्दै आएको कार्य र अबको प्राथमिकताका विषयमा पनि अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनेछिन् ।

प्रधानमन्त्री कार्कीले यसबिचमा भारत, चीन, अमेरिकीसहित देशका राजदूतहरूसँग छलफल गरिसकेकी छिन् ।