काठमाण्डु– रौतहटको चन्द्रपुर नगरपालिका–४, पश्चिम लच्का नजिक बुधबार बिहान यात्रुवाहक बसमा आगलागी भएको छ।
काठमाण्डुबाट चन्द्रपुरतर्फ जाँदै गरेको बागमती प्रदेश–२–०३–००१ ख ५५५५ नम्बरको बसमा बिहान करिब ७ः२० बजे ब्याट्रीको तार सर्ट भएर आगो लागेको हो ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख डिएसपी रुपा लाबुङका अनुसार, बसको ब्रेक जाम भएर तार सर्ट भएपछि गाडी एक्कासी रोकिएको थियो।
बस रोकिनासाथ यात्रुहरू सबै बाहिर निस्केकाले कुनै पनि मानवीय क्षति हुन पाएन।
आगलागीबाट बस पूर्णरूपमा जलेर नष्ट हुँदा करिब ३५ लाख रुपैयाँ बराबरको क्षति भएको बस सञ्चालकले जनाएका छन्।
घटनालगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीयवासी र प्रहरीको सहयोगमा बारुण यन्त्र परिचालन गरी आगो करिब सवा ८ बजे नियन्त्रणमा लिइएको थियो।




प्रतिक्रिया