मिथिलाञ्चलसहित तराई–मधेशमा आज अन्नकुट मनाइँदै

मिथिलाञ्चलसहित तराई–मधेशमा आज अन्नकुट मनाइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – मिथिलाञ्चलसहित तराई–मधेशमा बुधबार अन्नकुट पर्व मनाइँदैछ ।

प्रत्येक वर्ष भाइटीकाको १ दिन पहिला मनाइने अन्नकुट पर्वका लागि जनकपुरधामका मठ मन्दिरहरू बिहानैदेखि नै तयारीमा जुटेका छन् ।

यस पर्वमा न्यूनतम ५६ व्यञ्जन बनाएर भगवान्लाई चढाउने गरिनुका साथै सम्पूर्ण श्रद्धालुहरूलाई पनि सोही बनेका परिकारहरू प्रसाद स्वरूप खुवाउने गरिन्छ ।

मर्यादा पुरुषोत्तम भगवान् श्रीरामले लंकामा विजय प्राप्त गरी फर्किएको खुशीयालीमा अयोध्यावासीले भगवान रामसहित अयोध्या आएका सम्पूर्ण अतिथिहरूलाई ५६ प्रकारका व्यञ्जन बनाएर दिएको जनविश्वास रहेको जनकपुरधामस्थित सीताकुण्डका महन्थ रामनरेश दासले जानकारी दिए ।

उनका अनुसार सोही समयदेखि पायक पर्ने सम्पूर्ण मठ–मन्दिर, कुटीहरूले यस परम्परालाई जिवन्त राखेको छ । ५ दशक पहिलासम्म जनकपुरधामका ५२ वटै मठ–मन्दिर र कुटीहरूमा अन्नकुट मनाइने भए पनि आजको दिनमा यो संख्या हातको औंलामा गन्न सकिने भएको महन्थ दासले बताए ।

जनकपुरधामका प्रमुख मठ–मन्दिरहरू जानकी मन्दिर, राममन्दिर, बिहार कुण्ड, अग्निकुण्ड तथा सीताकुण्डमा भने यो निरन्तर प्रत्येक वर्ष अन्नकुट मनाइँदै आएको छ ।

अन्नकुट पर्वमा प्रसाद ग्रहण गर्न जोसुकै आउन सकिने हुन्छ । जनकपुरधामको सीताकुण्डमा मात्रै ५ हजार बढीले प्रसाद ग्रहण गर्ने गरेको महन्थ दासले बताए ।