काठमाण्डु – चिनियां राष्ट्रपति सी जिनफिङले झाङ सेङमिनलाई केन्द्रीय सैनिक आयोगको उपाध्यक्ष पदमा नियुक्त गरेका छन् । चिनियां राष्ट्रपतिले केही दिनअघि सेनामा व्यापक सफा अभियान सुरु गरेका थिए ।
राष्ट्रपति सीको विश्वासपात्र सेङमिनलाई उनले आफुपछि देशको दोस्रो सबैभन्दा उच्च पदस्थ जनरलमा बढुवा गरेका हुन् । उनि सेनाको अनुशासन तथा भ्रष्टाचार नियन्त्रण संयन्त्रमा सक्रिय जनरल हुन् । यसअघि उनि रकेट फोर्सअन्र्तगत पूर्व दोस्रो तोपखाना कोरमा राजनीतिक तथा अनुशासन निरीक्षण भूमिकामा थिए ।
चीनमा राष्ट्रपति सीले पछिल्ला वर्षहरुमा सेनाभित्र निष्ठा,अनुशासन र पारदर्शीता बलियो पार्ने उद्देश्यसहित ठुलो मात्रामा संगठन पुर्नगठन गरिरहेका छन् । झाङको बढुवालाई सोही प्रयासको निरन्तरता र विश्वासपात्रहरुको घेरालाई अझ सुदृढीकरण गर्ने कदमका रुपमा हेरिएको छ ।
झाङ सन् १९७८ मा सेनामा प्रवेश गरेका थिए । उनि चीनको स्यान्सी प्रान्तका स्थानीय हुन् । सीले यसअघि चीनका पूर्व रक्षामन्त्रीहरु वेई फेङहे र ली शाङफुलाई पनि पदबाट हटाएका थिए ।




प्रतिक्रिया