काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको स्थलगत निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा मन्त्री घिसिङले संसद् भवन निर्माण कार्यमा देखिएका ढिलाइप्रति चिन्ता व्यक्त गर्दै निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिए ।
उनले भने, ‘पहिलोपटक सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद् भवन अवलोकन गर्दा पुरानो संसद् भवन जेनजी आन्दोलनका क्रममा आगलागी भएर पूर्ण रूपमा ध्वस्त भएको अवस्था छ । अब निकट भविष्यमा राष्ट्रियसभा बैठक र फागुन २१ गतेपछि निर्वाचित प्रतिनिधिसभा बैठक सञ्चालन गर्नुपर्ने भएकाले नयाँ भवन समयमै सम्पन्न गर्न अत्यावश्यक छ ।’
उनले पुरानो संसद् भवन पुनर्निर्माण गर्न अझै धेरै समय लाग्ने भएकाले नयाँ भवन छिट्टै सम्पन्न नगरे ठूलो असर पर्न सक्ने बताए ।

उनले भने, ‘हामीले नयाँ संसद भवन छिटोभन्दा छिटो सम्पन्न गर्न सकेनौं भने त्यसको असर धेरै पर्ने हामीले देखेका छौं ।’
मन्त्री घिसिङले निर्माण कार्य तीव्रगतिमा अघि बढाउन ठेकेदार कम्पनीहरूबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए । उनले भने, ‘भवनलाई समयमै सम्पन्न गर्नका लागि सिभिल कन्ट्रयाक्टर र अन्य ठेकेदारबीच समन्वय गरी हरेक दिनको कार्यतालिका (सेड्युल) बनाउनुपर्छ । साथै त्यसको प्रगति प्रत्येक दिन बेलुका समीक्षा गर्नुपर्छ ।’




प्रतिक्रिया