रौतहट – लोक आस्थाको महान् पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरू बेहुलीझै सिँगारिएका छन् ।
छठ घाटहरूमा रंगीन बत्ती, तोरण र विभिन्न सजावटी सामग्रीहरूले दृश्य झनै मनमोहक बनेको छ ।
छठ पर्वको विधि सुरु भइसकेकाले यहाँका लालबकैया, बागमती, झाँझ, चाँदी लगायतका नदी तथा विभिन्न पोखरीलाई स्थानीय तथा क्लबहरूको सहयोगमा विशेष रूपमा सिँगार्ने काम अन्तिम चरणमा पुगेको छ ।
राजदेवी नगरपालिकाको मुडवालवा मठको पोखरी किनारमा छठ घाट आकर्षक तरिकाले सजाइएको छ । तिहार सकिएसँगै छठ घाट सजावटको काम गरिएको चाँदी नदी छठ व्यवस्थापन समितिका सुरेन्द्र साहले बताए ।
प्रत्येक वर्ष छठ मनाउनेहरूको संख्या वृद्धि भइरहेकाले यस वर्ष व्यवस्थापनमा विशेष ध्यान दिएको उनको भनाइ छ । अहिले जलाशय तथा ग्रामीण भेगका गाउँमा छठका महिमाका गीतहरू गुञ्जिन थालेका छन् ।

छठका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजारमा निकै भीड देखिन थालेको छ । छठ व्रत शुद्धताको प्रतीकको रूपमा रहेकाले छठ व्रतमा प्रसादको रूपमा प्रयोग हुने ठेकुवा फलफूलमा केरा सुन्तला ज्यामिर, निम्बु, उखु, अदुवा लगायतका अन्य फलफूल मिठाइ भाँडाको रूपमा प्रयोग हुने माटोबाट निर्मित कलश, दियो, ढकनी, कोशी भर्न माटोको हात्ती बाँसबाट बनेको डगरा, दौंरा, सुपो लगायतका सामानहरू किनमेल गर्नेहरूको भीड स्थानीय बजारमा बढेको छ ।
विगतभन्दा यस वर्ष छठ पर्वमा आवश्यक सामानको मूल्य निकै वृद्धि भएको चन्द्रपुरका स्थानीयको गुनासो छ । ४ दिनसम्म चल्ने पर्वमा पहिलो दिन नुहाएर पवित्र आहार ग्रहण गर्ने, दोस्रो दिन खरना गर्ने, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व सम्पन्न गर्ने परम्परा रहँदै आएको छ ।




प्रतिक्रिया