स्वार्थ समूहको घुसपैठ हुनसक्ने भएकाले प्रदर्शन नगर्न गृह मन्त्रालयको अपिल (विज्ञप्तिसहित)

स्वार्थ समूहको घुसपैठ हुनसक्ने भएकाले प्रदर्शन नगर्न गृह मन्त्रालयको अपिल (विज्ञप्तिसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृह मन्त्रालयले स्वार्थ समूहहरूले अस्थिरता फैलाउने प्रयास गर्न सक्ने भन्दै प्रदर्शन, धर्ना र जुलुसजस्ता गतिविधि नगर्न सबैलाई आग्रह गरेको छ ।

मन्त्रालयले शनिबार सार्वजनिक गरेको विज्ञप्तिमा सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा समूहका नाममा सार्वजनिक भइरहेका विरोधका कार्यक्रमहरूप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यस्तो गतिविधिले देशमा शान्ति र स्थायित्वमा असर पार्न सक्ने चेतावनी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘देशमा अस्थिरता निम्त्याउन खोज्ने स्वार्थ समूहले यस्ता कार्यक्रममा घुसपैठ गरी अशान्ति एवम् अराजकता निम्त्याउन सक्ने हुँदा त्यसतर्फ आयोजकहरू समेत सचेत हुनुपर्ने देखिन्छ ।’

मन्त्रालयका अनुसार सरकार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीमा क्रियाशील छ । निर्वाचनका लागि आवश्यक कानूनी संशोधन, स्रोतसाधनको व्यवस्थापन, राजनीतिक दलहरू र सरोकारवालासँग संवादका प्रक्रिया अघि बढाइएका छन् ।

गृह मन्त्रालयले भदौ २३ र २४ गतेको प्रदर्शनपछि क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण र शान्ति सुरक्षाको सामान्यीकरणमा सरकार केन्द्रित रहेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आफ्ना माग राख्दा जनताको शान्तिपूर्वक बाँच्न पाउने, निर्वाध सार्वजनिक सेवा प्राप्त गर्ने र निर्वाचनमा भाग लिन पाउने हक कुण्ठित हुन नदिनु जरुरी छ । सार्वजनिक तथा राष्ट्रिय सुरक्षा खलल हुन नदिई साम्प्रदायिक सद्भाव कायम राख्दै राष्ट्रिय हितको प्रवर्द्धन गर्ने कार्यमा सबैको भूमिका अपेक्षित छ ।’

मन्त्रालयले सबै नागरिक र आन्दोलनकारी पक्षलाई वार्ता र संवादमार्फत मागको समाधान खोज्न आग्रह गर्दै भनेको छ, ‘सरकार जायज माग, चासो र सरोकार सम्वोधन गर्न सदा तत्पर र गम्भीर छ । त्यसैले धर्ना, जुलुस वा प्रदर्शन नगरी संवादकै माध्यमबाट समस्या समाधानमा आउन सबैमा अनुरोध गर्दछ ।’