काठमाण्डु – मनाङ–मुस्ताङ लगायतका हिमाली जिल्लाहरूमा सोमबार रातिदेखि परेको हिउँको कारण आउन सक्ने चुनौतीलाई मध्यनजर राख्दै पदयात्रा तथा भ्रमणमा जाने यात्रुहरूलाई सचेत गराउनुका साथै सावधानी अपनाउन अनुरोध गरिएको छ ।
मुस्ताङ जिल्लाको लोमाङथाङ गाउँपालिका–५ नेचुङस्थित उपल्लो मुस्ताङमा सोमबार रातिदेखि परेको हिउँ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नेचुङले पन्छाउनुका साथै बाटो हुँदै पदयात्रा तथा भ्रमणमा जाने पर्यटकहरूलाई सुरक्षित यात्रा र सावधानी अपनाउन अनुरोध गरेकोे छ ।
टोलीले यात्रुहरूको सहजताका लागि कोरोला नाका जाने बाटोमा परेको हिउँ पन्छाउने कार्य समेत गरेको छ । कोरला नाकासम्म जाने बाटोमा हिउँ जमेर असहजता भएपछि हिउँ पन्छाएको हो भने थप हिमपात भएमा भ्रमणमा नआउन सशस्त्र प्रहरीले अनुरोध गरेको छ ।
मनाङ जिल्लाको डिस्याङ गाउँपालिका–४ हुम्डेस्थित चामेदेखि खाङ्सार जाने बाटोमा सोमबार रातिदेखि परेको हिउँ समेत सशस्त्र प्रहरीले हटाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३२ गुल्म मनाङबाट खटिएको सुरक्षा फौजले यात्रुहरूलाई सावधानी अपनाउन र मौसम प्रतिकूलताबारे सचेत रहन अनुरोध गरेको छ ।
यसैगरी, म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण पदमार्गमा गएका पदयात्रीहरुको सहजीकरणको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेस नारच्याङ् म्याग्दीको टोली खटिएको छ । टोली पदयात्रीहरूको सहजता र सुरक्षाका लागि अन्नपूर्ण गाउँपालिका–४ हुमखोलाभन्दा माथिसम्म पुगेको छ ।




प्रतिक्रिया