रौतहट – रौतहटको चन्द्रपुर नगरपालिका–९ को डुमरिया स्वास्थ्य केन्द्रमा जापनिज इन्सेफ्लाइटिसको खोपको भ्याक्सिन म्याद नाघेको भेटिएको छ ।
कात्तिक महिनाको १७, १८ र १९ गते १२ महिनादेखि २३ महिनाभित्रका बालबालिकाहरूका लागि दिन तयारी परिएको भ्याक्सिन म्याद नाघेको भेटिएको हो ।
चन्द्रपुर अस्पतालबाट ल्याइएको भ्याक्सिन म्याद गुज्रिएको भेटिएकाले तत्काल खोप दिन रोकिएको चन्द्रपुर नगरपालिकका स्वास्थ्य शाखाका प्रमुख राजेश ठाकुरले बताए । उनले कर्मचारी तहबाट त्रुटि भएको स्वीकार गरे । ‘यस्तो लापरवाही गर्नु हँुदैन,’ उनले भने, ‘यस विषयमा छानबिन हुन्छ । अस्पतालमा म्याद भएको भ्याक्सिन हुँदा पनि सकिएको ल्याउनु कर्मचारीलको गल्ती भएको उनको जिकिर छ ।’
जापनिज इन्सेफ्लाइटिसको भ्याक्सिनको म्याद अंग्रेजी मितिअनुसार सन् २०२५ नोभेम्बर १ तारिखमा सकिएको छ । भ्याक्सिनको म्याद सकिएको ४ दिनपछि दिन लागेको भन्दै यसले बालबालिकाहरू गम्भीर असर पार्ने चन्द्रपुर नगरपालिका–९ का वडाध्यक्ष नवराज देवकोटाले बताए । यो विषय गम्भीर भएकाले कार्यपालिकाको बैठक राख्ने र दोषी कर्मचारीलाई कारवाही गरिने उनले बताए ।
चन्द्रपुर, वृन्दावन, गरुडा र गुजारा नगरपालिकाभित्रका बालबालिकाहरू खोप लगाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका खोप अधिकृत अनिल कर्णले बताए ।
उनका अनुसार प्रदेश कार्यालयबाट हालै आएको भ्याक्सिनको मिति २०२६ अप्रिलसम्म म्याद छ । तर चन्द्रपुर नगरपालिका ९ मा भेटिएको म्याद नाघेको भ्याक्सिनको विषय गम्भीर रहेको उनको भनाइ छ । यस विषयमा आफ्नो ध्यानाकर्षण भएको चन्द्रपुर नगरपालिका नगर प्रमुख सन्जय काफ्ले बताए ।




प्रतिक्रिया