काठमाण्डु – भारतको बिहार राज्यमा हुने दोश्रो चरणको विधानसभा निर्वाचनका लागि शनिबारदेखि नेपाल–भारत सीमा नाका बन्द गरिएको छ ।
भारतसँग सीमा जोडिएका मधेशका जिल्ला प्रशासन कार्यलयहरू सूचना जारी गर्दै कात्तिक २२ गते शनिबार साँझ ६ बजेदेखि २५ गते मंगलबार साँझ ६ बजेसम्म नेपाल–भारत सीमा नाका बन्द हुने जानकारी गराएको हो ।
भारतको बिहार राज्य सीतामढी तथा पूर्वी चम्पारणका जिल्लामा कात्तिक २५ गते मंगलबार दोश्रो चरणको विधानसभा निर्वाचन हुँदैछ । निर्वाचनको सुरक्षा व्यवस्थालाई दृष्टिगत गर्दै शान्ति सुरक्षा व्यवस्थापनका लागि सीमा नाका बन्द हुने जिल्ला प्रशासन कार्यालयहरूले जनाएको छ ।
नेपाल–भारत सीमा नाकामा आकस्मिक सेवा बाहेक आवागमन पूर्णरूपमा बन्द हुनेछ । नेपाल–भारत समन्वयको बैठक अनुसार सुरक्षालाई ध्यानमा राखेर नाका बन्द गरिएको हो ।
सीमा क्षेत्रमा सुरक्षामा कडाइ गर्दै निर्वाचन अवधिभर सम्भावित अवाञ्छित गतिविधि रोक्ने उद्देश्यले दुवै देशका सुरक्षाकर्मीहरू सीमाक्षेत्रमा तैनाथी रहेको जिल्ला प्रहरी कार्यालयहरूले जनाएको छ ।
सीमा बन्द भएसँगै जनकपुरधाम–जयनगर रेल सेवा पनि अस्थायी रूपमा रोकिएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडले सीमा बन्द भएका कारण भारतको जयनगरसम्म पुग्ने रेल सेवा स्थगित गरिएको र सीमा खुलेपछि पुनः सेवा सुचारु गरिने जनाएको छ ।




प्रतिक्रिया