नेकपासँग एकता गर्न अशोक राई लचक

नेकपासँग एकता गर्न अशोक राई लचक

एकता सम्भव नभए मोर्चा र तालमेल पनि गर्न सकिने जसपाको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अशोक राई नेतृत्वको जसपा नव गठित नेपाली कम्युनिस्ट पार्टीसँग एकता गर्न लचक भएका छन् ।

एकताका विषयमा दुई पार्टीबीच शनिबार पेरिसडाँडास्थित नेकपाको कार्यालयमा पहिलो चरणको वार्ता भएको हो। नेकपासँग एकताको विषयमा जसपाले पहिलोपटक औपचारिक छलफल गरेको हो ।

वार्तामा नेकपातर्फबाट वर्षमान पुन, देव गुरुङ र प्रमेश हमाल सहभागी थिए भने राई नेतृत्वको जसपाको तर्फबाट राजेन्द्र श्रेष्ठ लगायतका नेताहरू थिए।

एकता प्रक्रिया अघि बढाउन वार्ता संवादमा सकारात्मक रहेको दुवै पार्टीका नेताहरूले बताएका छन्।

नेकपाका नेता प्रमेश हमालले जसपाको वार्ता टोलीसँगको छलफल सकारात्मक भएको बताए । ‘वैचारिक, सैद्धान्तिक कुरामा छलफल भएको छ, थप छलफल हुनेछ ।’

जसपाका नेताहरूका अनुसार नीति, कार्यक्रम र सिद्धान्तका आधारमा एकता र ध्रुवीकरण हुनेछ ।

जसपाले संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा सहअध्यक्ष रेणु यादव, उपाध्यक्षद्वय रनध्वज कन्दङ्वा र परशुराम बस्नेत तथा महासचिव मोहमद इस्तियाक राईलगायतका सदस्य रहेको कार्यदल गठन गरेको छ ।

एकता सम्भव नभए मोर्चा र तालमेल पनि गर्न सकिने जसपाको तयारी छ । विगतमा समाजवादी मोर्चामा सँगै काम गरेको हुनाले नेकपासँग विचार, सिद्धान्तमा धेरै भिन्नता नरहेको नेताहरूको भनाइ छ ।

यसबीच नेकपासँगको छलफलपछि जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । अध्यक्ष अशोक राईले सोमबार कार्यकारिणी समितिको बैठक बोलाएका हुन् ।

बैठकमा नेकपासँगको एकतासहित आगामी चुनावमा कसरी जाने भन्ने विषयमा छलफल हुनेछ ।