काठमाण्डु- जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएपछि सांसदहरूले धन्यवाद दिएका छन्। सोमबार सिंहदरबारमा बसेको बैठकमा संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले नाम फिर्ताको पत्र पढेर सुनाएका हुन् ।
‘प्रस्तावित राजदूत थापाले ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ भयो, म नाम फिर्ता लिन्छु भनेर मौखिक जानकारी दिइसक्नु भएको छ। पत्र आइसकेको छ’, बैठकमा सभापति श्रेष्ठले भने ।
जापानको पीआर त्यागेको प्रमाण सार्वजनिक गर्न नसकेपछि उनले नाम फिर्ता लिएका हुन् । थापासहित उनकी श्रीमतीको पनि जापानको पीआर रहेको खबर आएको थियो ।
थापाले नाम फिर्ता लिएपछि सांसदहरू अर्जुननरसिंह केसी, वर्षमान पुन, पद्मा अर्याल र मधुकुमार चौलागाईंले धन्यवाद दिए । ‘उहाँले आफैंले बुझेर उच्च नैतिकता देखाउनु भयो । सबै कुरा बुझेर प्रस्तावित राजदूतबाट नाम फिर्ता लिनु भयो’, बैठकमा सहभागी एक सांसदले भने, ‘संसदीय समिति सभापति बोधनारायण श्रेष्ठले पनि थापा नयाँ परम्परा बसालिदिएको भन्दै धन्यवाद दिनु भयो ।’
थापासँग राम्रो क्षमता हुँदा हुँदै स्वार्थ बाझिएका कारण नाम फिर्ताको अवस्था आएको उनले बताए । ‘उहाँको कुनै खोट छैन, आरोप पनि छैन’, समिति सभापति श्रेष्ठले भने, ‘तर पनि स्वार्थ बाझिन गएको कुरा बुझेर उहाँले आफैं नाम फिर्ता लिएर नयाँ सुरूवात गरिदिनु भयो ।’


प्रतिक्रिया