काठमाण्डु – मुख्यमन्त्री नियुक्ति सम्बन्धी रिटमा मंगलबार सर्वोच्च अदालतले दिएको आदेशले मधेश प्रदेशमा अन्योल सृजना भएको छ ।
सर्वोच्च अदालतले मंगलबार मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मुद्दा किनारा नलागेसम्म नीतिगत र दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । योे आदेशपछि मुख्यमन्त्री यादव समर्थकहरू खुसी मनाउँदै छन् ।
अदालतले मुख्यमन्त्री यादवलाई नीतिगत र दीर्घकालीन असर पर्ने निर्णय नगर्न मात्र भनेको तर मुख्यमन्त्री पदमा भने यादव तत्काल रहने भनेकाले मुख्यमन्त्री यादव समर्थकहरू, एमालेका सांसद, नेता तथा कार्यकर्ताहरूमा खुसी छाएको छ ।
सामाजिक सञ्जालमा उनीहरूले खुसी व्यक्त गर्दै मुख्यमन्त्री यादवको जीत भएको भन्दै बधाइ दिइरहेका छन् ।
यता विपक्षीहरूको भने बेग्लै तर्क छ । ७ राजनितिक दलहरूले अदालतको आदेशले आफूहरूको जित भएको दाबी गर्दै खुसीयाली मनाइरहेका छन् । अदालतले मुख्यमन्त्री यादवलाई नीतिगत र दीर्घकालीन असरपर्ने निर्णय नगर्नु भन्नु नै विपक्षी दलहरूको जित भएको उनीहरूको दाबी छ । यस्तै दाबी निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनल पक्षको पनि छ ।
अब प्रदेश सभामा मुख्यमन्त्री यादवले विश्वासको मत लिन आए उनलाई जवाफ दिने जसपा नेपाल मधेश प्रदेशक सचेतक एवम प्रदेश सभा सांसद राम अशिष यादवले बताए ।
मंगलबार सर्वाेच्चले दिएको आदेमा मंसिर ११ गतेका लागि अन्तिम सुनुवाइ तोकेको छ । सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश जारी गर्दै उक्त मितिमा पूर्ण इजलासमा मुद्दा पेश गर्ने निर्णय गरेको छ ।
यसै आदेशमार्फत अदालतले मुख्यमन्त्री यादवलाई कुनै पनि नीतिगत वा दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न निर्देश दिएको छ । अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म यो आदेश लागू हुने उल्लेख रहेको छ ।
मुख्यमन्त्री यादवको नियुक्ति संविधानसम्मत नरहेको भन्दै ७ दलका ७४ जना सांसदहरूले सर्वोच्चमा रिट दायर गरेका थिए ।




प्रतिक्रिया