बिचौलिया प्रकरणबारे गगनले भने : कांग्रेसविरुद्धका आरोप निराधार, सरकार विषयान्तर गर्न खोज्दैछ

बिचौलिया प्रकरणबारे गगनले भने : कांग्रेसविरुद्धका आरोप निराधार, सरकार विषयान्तर गर्न खोज्दैछ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका आरोपहरू निराधार र कपोलकल्पित भएको दाबी गरेको छ।

सरकारले आफ्ना पछिल्ला गतिविधि र घटनाबाट जनताको ध्यान मोड्न प्रतिपक्षी दलविरुद्ध सुनियोजित रूपमा भ्रम फैलाउन खोजेको कांग्रेसको आरोप छ।

कांग्रेस सभापति गगनकुमार थापाको सचिवालयले सोमबार विज्ञप्ति जारी गर्दै पार्टी र नेतृत्वलाई लक्षित गरी प्रकाशित समाचार तथा लगाइएका आरोपप्रति गम्भीर आपत्ति जनाएको हो।

सचिवालयले कांग्रेसले पार्टी विधान र प्रचलित कानुनअनुसार विशेष महाधिवेशन सम्पन्न गरेको तथा त्यसबाट नेतृत्व र निर्णयको आधिकारिकतासम्बन्धी विषय निर्वाचन आयोग र अदालतका निर्णयबाट पुष्टि भइसकेको दाबी गरेको छ।

त्यस्तै, संविधान, प्रचलित कानुन, पार्टी विधान र सर्वोच्च अदालतको आदेशका आधारमा हालै सम्पन्न १५औँ महाधिवेशनले पार्टीको संस्थागत प्रक्रियालाई थप सुदृढ बनाएको विज्ञप्तिमा उल्लेख छ।

कांग्रेसले लोकतन्त्र, नागरिक स्वतन्त्रता, जनअधिकार र विधिको शासनका पक्षमा निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै सरकार लोकतान्त्रिक मूल्य र मान्यताविपरीत अघि बढे त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनीसमेत दिएको छ।

बिचौलिया प्रकरणमा निष्पक्ष अनुसन्धान माग

कांग्रेसले बिचौलियासँग सम्बन्धित विषय र त्यससँग जोडिएका सबै प्रकरणमा गहिरो, निष्पक्ष तथा प्रमाणमा आधारित अनुसन्धान हुनुपर्ने आफ्नो धारणा दोहोर्‍याएको छ।

दोषी देखिने जोकोहीलाई कानुनी कारबाही गर्नुपर्ने भन्दै त्यसका लागि सरकारलाई पार्टीको पूर्ण साथ र समर्थन रहने सचिवालयले स्पष्ट पारेको छ।

तर अनुसन्धानसँग सम्बन्धित नेपाल प्रहरीको छापसहितका कागजात, तथ्य तथा कथित बयानहरू छानिछानी सार्वजनिक भइरहेकोप्रति कांग्रेसले प्रश्न उठाएको छ। यसले अनुसन्धानको निष्पक्षतामाथि गम्भीर शंका उत्पन्न गरेको सचिवालयको भनाइ छ।

अनुसन्धानका क्रममा प्राप्त प्रमाण र बयानका अंश छनोट गरेर सार्वजनिक गर्दा प्रमाण लुकाउने वा नष्ट गर्ने तथा समग्र अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने प्रयास भइरहेको हो कि भन्ने आशंका उत्पन्न भएको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, अनुसन्धान चयनात्मक रूपमा अघि बढाइएको हो कि भन्ने प्रश्न उठाउँदै अनुसन्धानमा संलग्न निकायभित्रकै व्यक्तिहरूको भूमिकासमेत सार्वजनिक भइरहेकाले समग्र अनुसन्धान प्रक्रियालाई पारदर्शी बनाउनुपर्ने कांग्रेसको माग छ।

अनुसन्धानबाट पछि हट्दैनौँ : कांग्रेस

कांग्रेसले आफू कुनै पनि प्रकारको निष्पक्ष अनुसन्धानबाट पछि नहट्ने स्पष्ट पारेको छ। तर अपुष्ट आरोप, राजनीतिक पूर्वाग्रह र भ्रामक प्रचारका आधारमा कसैलाई आरोपित गर्ने प्रवृत्ति स्वीकार्य नहुने सचिवालयले जनाएको छ।

अनुसन्धानलाई निष्पक्ष र विश्वसनीय बनाउन पार्टीको संसदीय दलले समेत निर्णय गरिसकेको विज्ञप्तिमा उल्लेख छ।